Prakash Adhikari August 22, 2026

बेसीशहर(लमजुड.), ६ भाद्र । जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समिति (कोपाडेस) का अध्यक्ष एवं नेपाली कांग्रेसका नेता डिकेन्द्रराज कँडेल आफ्नै डेरामा मृत भेटिनुभएको छ ।

लमजुङको राइनास नगरपालिका–४, अल्काटारका स्थायी बासिन्दा कँडेल बेसीसहरस्थित दनाइफाँट नजिकै कालिका चोक तामाङटोस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा फेला पर्नुभएको हो।

कँडेल शुक्रबार बेलुकी नुहाएर डेरामा बसेको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । उहाँको मृत्यु शुक्रबार राति नै भएको हुन सक्ने अनुमान गरिएको छ।

शनिबार बिहान डेरामा मृत अवस्थामा फेला परेपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो।

कँडेल सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो। उहाँ कोपाडेसको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ नेपाली कांग्रेस महासमिति सदस्य पनि रहनुभएको थियो । लमजुड.को शैक्षिक,सामाजिक,आर्थिक विकासमा सक्रिय कँडेल पहिले सौभाग्योदय माध्यमिक विद्यालय अल्काटारमा शिक्षक हुनुहुन्थ्यो । त्यसपछि उहाँ अमेरिकी पिस कोर्पमा सेवारत रहनुभयो ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भएपछि लमजुड.का नदीनालाबाट जलविद्युत उत्पादन गर्ने सामुहिक प्रयासमा स्थापना भएको लमजुड. विद्युत विकास कम्पनीको नेतृत्व पनि उहाँले गर्नुभएको थियो । यसले साना जलविद्युत आयोजना सम्पन्न गर्नुको साथै सामुदायिक प्रशारण प्रणालीको सञ्चालन पनि गरेको थियो ।

उहाँ ग्लोबल आइएमईसँग मर्ज हुनुअघिको प्यासिफिक डेभलपमेन्ट बैंकको सञ्चालक पनि हुनुहुन्थ्यो ।

उहाँको मृत्युको कारण स्पष्ट भएको छैन। तर विगतमा उहाँलाई हृदयाघात भएको हुनाले यस्तै माइल्ड हर्ट एट्याक भएको हुनसक्ने अनुमान गरिएको । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

सामाजिक अगुवा र कांग्रेस नेता डिकेन्द्रराज कँडेलको मृत्युको खबर पाउनासाथ पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, जिल्ला प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेत लगायत घट्नास्थल पुग्नुभएको थियो ।

Share Now