भक्तपुर, ९ चैतः मुलुकमा हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व क्षयरोग दिवसका अवसरमा आज राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्नेमा १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जानकारी दिइएको हो ।
कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालको क्षयरोगको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै एक वर्षमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा ६७ हजार नयाँ बिरामी फेला परेका छन् । योसँगै एक लाख २२७ जनामा क्षयरोग छ । हरेक वर्ष करिब १६ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने गरेको छ । एक लाखमा करिब ५३ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको छ ।”
आव २०८१/८२ मा औषधि-संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान गरी उपचार गरिएको निर्देशक डा पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुषको उपचार भइरहेको छ, तीमध्ये पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् ।”
केन्द्रका निर्देशक डा पौडेलले उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी र २८ प्रतिशतमा फोक्सोबाहेक अन्य अङ्गमा क्षयरोग देखिने गरेको जानकारी दिनुभयो । औषधि-प्रतिरोधी क्षयरोगका ६२५ बिरामी पहिचान गरिएकामा ९२ प्रतिशत औषधि-संवेदनशील क्षयरोगको उपचारमा सफलता प्राप्त भएको उल्लेख गर्दै उहाँले औषधि-प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनुभयो ।
विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोग देखिने गरेको जानकारी दिँदै केन्द्रका निर्देशक डा पौडेलले तीमध्ये १२ लाख ३० हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले जनाएको बताउनुभयो । यो नियन्त्रणका लागि सरकारले छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको छ । उहाँले ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
डा पौडेलका अनुसार मुलुकभरि औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् । उहाँले १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको बताउँदै नौ वटा एआई जडित डिजिटल एक्स-रे सञ्चालन गरी क्षयरोग परीक्षण गरिरहेको जानकारी दिनुभयो ।
मुलुकमा अझै ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेका भन्दै उहाँले ११ प्रतिशत बिरामी र तिनका परिवारलाई आर्थिक भार, सामाजिक भेद्भाव र पर्याप्त स्रोतसाधनको अभावले चुनौती थपिँदै गएको बताउनुभयो ।
एआई जडित डिजिटल एक्स-रे प्रविधिको विस्तार, नवीन निदान सेवा सुदृढीकरण, द्रुत परीक्षण विस्तार, गुणस्तरीय उपचारमा पहुँच सुनिश्चितता गर्दै प्रदेश र स्थानीय तहको नेतृत्वमा कार्यकम कार्यान्वयनलाई प्राथमिकता दिइने केन्द्रका निर्देशक डा पौडेलले बताउनुभयो ।
सरकारले यस वर्ष ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाउँदैछ । नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यो दिवस मनाउने गरिएको हो ।


















