Prakash Adhikari May 25, 2026

धनगढी(कैलाली), १० जेठ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवापक्षीय कार्यकर्ताको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सम्पन्न भएको छ ।

भेलाले २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको हालसम्मकै कमजोर नतिजा आउनुको कारण विशेष महाधिवेशन र त्यसको आडमा चयन भएको कथित नयाँ नेतृत्व भएको निष्कर्ष निकालेको छ ।

भेलामा बोल्ने अधिकांश नेता र कार्यकर्ताहरुले नेपाली कांग्रेसलाई कमजोर र विभाजोन्मुख गराउने कार्य वर्तमान सभापति गगनकुमार थापाले गर्नुभएको आरोप लगाए । कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालबाहेक कसैले पार्टी सभापति थापाप्रति सहानुभूति देखाएनन् । उहाँले थापाकै नेतृत्वमा अगाडि बढनुको विकल्प नभएको बताउनुभयो । उहाँले शेरबहादुर देउवाको योगदानको उच्च सम्मान गर्नुपर्ने पनि बताउनुभयो ।

नेपाली कांग्रेसमा बृहतर एकता र पुर्नजागरण नारा दिइएको सुदूरपश्चिम भेलाले पार्टी सभापति थापालाई विशेष महाधिवेशनले पार्टीलाई इतिहासमै कमजोर बनाएको, सदस्यता अद्यावधिकको कार्य अस्वीकार्य भएको र नियमित महाधिवेशनमा सबै पक्षलाई समेट्ने वातावरण नभए पार्टी विभाजन हुने सन्देश दिएको छ ।

भेलाका वक्ताहरूले सभापति गगनकुमार थापाको पार्टी टिकटमा हस्ताक्षर गर्ने मोहका कारण प्रतिनिधि सभाको निर्वाचनमा पार्टी इतिहासमै कमजोर स्थितिमा पुगेको दाबी गरेका छन् ।

‘बदलियौँ कांग्रेस, बदल्छौँ देश भन्दै चुनावमा जाने । शेरबहादुर देउवाको अनुहार राम्रो छैन् भनेर थुन्ने तर चुनाव हारेपछि फलानो नेताले भोट मागेन भनेर कुर्लिने,’ कोशीका मुख्यमन्त्री केदार कार्कीले थापाको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै भन्नुभयो, ‘मत दिएन भनेर अहिले सरकार थर्काउन छाडेर गाउँ पसेर इमानदार कार्यकर्ता थर्काउँदै हिँड्ने । खेताला प्रयोग गरि नेतालाई गाली गर्ने काम सह्य हुँदैन ।’

नेता तथा पूर्वमन्त्री एनपी साउदले पनि जेनजी आन्दोलनपछि समस्याको समाधान विशेष महाधिवेशन नभएर नियमित महाधिवेशन भएको कुरा पटकपटक आग्रह गरिएको तर तात्कालीन महामन्त्रीद्धया गगन थापा र विश्वप्रकाश शर्माले स्वीकार नगरेपछि अहिलेको अवस्था आएको बताउनुभयो ।

‘हामीले चुनावको पूर्वसन्ध्यामा महाधिवेशन भए भोलि त्यसले क्षति व्यर्होनुपर्ने भनेको थियौँ । चुनावका बेला धैर्य राख्नुपर्छ भनेर आग्रह गरेका थियौँ तर हाम्रा साथीहरुले मान्नुभएन’ साउदले भन्नुभयो, ‘विशेष महाधिवेशनलाई निर्वाचन आयोगले नै मान्यता दिएपछि रुख चुनाव चिन्ह अघि बढेका थियौँ । निर्वाचन कस्तो भयो तपाईंहरुलाई थाहै छ ।’

देउवा पक्षीय नेताहरुले थापाको हतारो र अपरिपक्क निर्णयका कारण भएको विशेष महाधिवेशन नै पार्टी हारको मुख्य कारण भएको निष्कर्ष निकालेका छन् ।

प्रदेश सभापति बलायरले कांग्रेस इतिहासमै पहिलोपटक निर्वाचनमा ध्वस्त भएको दाबी गर्दै बताउनुभयो, ‘सबैभन्दा क्रान्तिकारी, युवा, देशभक्त सभापति तीन वटै निर्वाचन खरानी भयो भने के हुने हो ? उहाँ(थापा)को के हुन्छ त्यो थाहा छैन तर देशको के हुन्छ त्यो चिन्ता भएकाले बेलैमा सचेत भएका छौं।’ तर पार्टी एकताको पक्षमा आफूहरू रहेको बताउँदै प्रदेश सभापति बलायर गर्जिनुभयो । उहाँले थापा महामन्त्री भएका बेला क्रियाशील सदस्यता नवीकरण गर्न निर्देशन दिएपछि नवीकरण गरेर विवरण पठाइएको बताउनुभयो।

भेलाको मुड हेर्दा सुदूरपश्चिम कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्ने पार्टीको निर्णय पनि स्वीकार नगर्ने पक्षमा देखिएको छ।

उहाँले सदस्यतामा मनोमानी गर्न फेरि नवीकरणको नाटक रचिएको भन्दै नमान्नेलाई फुत्त फालेर पार्टीमा कब्जा जमाउने तयारी भएको आरोप पनि लगाउनुभयो । उहाँले चुनौती दिंदै भन्नुभयो ‘हिजो सदस्यता नवीकरण गरेर रकम खातामा हालेर पठाइयो । अब छानेको कांग्रेस राख्नका लागि आफ्नो मापदण्ड र भनेको नमान्नेलाई फुत्त फालिदिन्छु भनेर होला, सक्छौँ भने फालेर देखाउ । कुनै पनि ठाउँमा कांग्रेसको मूलमन्त्र जोडेको कांग्रेस हामीसँग छ ।’

भेलाका अर्का वक्त नेता रमेश लेखकले सुदूरपश्चिम र राष्ट्रकै निम्ति ठूलो योगदान पुगाएका निवर्तमान सभापति शेरबहादुर देउवालाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँलेपार्टीलाई एकताबद्ध गर्न यस्तो प्रदेशस्तरीय भेला गरिएको बताउँदै भदौरे आन्दोलनपछि पार्टी एक ढिक्का भएर संविधान,संसद र पार्टीको रक्षामा लाग्नुपर्नेमा पार्टी विभाजन हुने गरी विशेष महाधिवेशनको प्रस्ताव ल्याउनु नै नेपाली कांग्रेस कमजोर बन्नुको कारण भएको बताउनुभयो ।

नेता लेखकले पार्टी ऐतिहासिक रुपमा नै कमजोर भएको बेला पार्टीको १५ औँ महाधिवेशन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न हुने कुरा सुनिश्चितता गर्न सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो ।

भेलाले पार्टीको सदस्यता अद्यावधिकको कुनै औचित्य नै नभएको निष्कर्ष निकालेको छ । भेलाले पार्टीभित्र बृहत्तर एकता र सम्मानजनक व्यवस्थापनका लागि निष्पक्ष रुपमा नियमित महाधिवेशन गर्न सबै पक्ष समेटिएको महाधिवेशन आयोजक समिति अबिलम्ब निर्माण गर्न पनि माग गरेको छ ।

 

Share Now