सिंगापुर, १७ जेठ । नेपालका ओपनिड. ब्याट्सम्यान कुशल भुर्तेलको शानदार शतकीय पारीमा सिंगापुरमा जारी एशियन गेम्स छनोट खेलमा नेपालले चीनलाई १ सय २१ रनले पराजित गरेको छ ।
आइतबार सम्पन्न पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको हो। समूह ‘ए’मा रहेको नेपालले अब मलेसियासँग खेल्नेछ।
आजको खेलमा नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रन बनाएको अवस्थामा अल आउट भयो ।
चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए। १५ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। दु जिन्हाओ १७, तियान सेनकुन १२ रनमा आउट हुँदा अन्यले ब्याटिङ गर्न सकेनन्।
चीनलाई रोक्नका लागि नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २ । २ विकेट लिए।
त्यसअघि सिंगापुर नेसनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो। टी–२० आईमा नेपालको यो दोस्रो उच्च रन हो।
यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो। आजको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक १ सय २९ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र १६ छक्का प्रहार गरे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्कासहित अविजित ८५ रन बनाए।
खेलमा रोहितकुमार पौडेलले २१ बलमा ५ चौका र ७ छक्कासहित अविजित ६९ रन बनाउँदा ओपनर आसिफ शेखले ११ रन बनाए।








