सिंगापुर, २५ जेठ। नेपाल एशियाली खेलको पुरुष क्रिकेट छनोट खेलको च्याम्पियन बनेको छ । छनोट चरण अन्तरगत आज सिगापुरमा भएको फाइनल खेलमा नेपालले हंगकंगलाई १९ रनले पराजित गरेको हो ।
नेपाल र हंगकंगबीचको फाइनल खेल चलिरहदा बर्षा भएकोले खेलको नतिजा डीएल विधिबाट घोषित गरिएको हो ।
हंगकंगले नेपालसमक्ष प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य हासिल गर्नेतर्फ नेपाल अगाडि बढिरहेको बेलामा ११.३ ओभरमा पुग्दा पानी परेर खेल रोकिन पुगेको थियो । त्यसबेला नेपालले दुई विकेटको क्षतिमा १ सय १४ जोडिसकेको थियो । मैदानमा पानी जमेर खेल्न योग्य नभएपछि डीएल मेथडबाट नतिजा घोषित गरिएको थियो ।
नेपालको जितमा आज ओपनर कुशल भूर्तेलको ठूलो योगदान रह्यो । उनले ४० बलमा ८ चौका र ३ छक्काको मद्दले ६५ रन जोडेका थिए । अर्का ओपनर आशिफ शेख शून्य रनमा आउट भएपछि ब्याटिड. सम्हालेका रोहित पौडेलले २४ बलमा ३ चौका र एक छक्काको मद्दतले अविजित ३५ रन जोडेका थिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४ बलमा ९ रन जोडेका थिए । नेपालले सुरुमा तयार गरेको स्कोरले खेल जित्न महत्वपूर्ण योगदान गरेको थियो ।
यस अगाडि सिंगापुरको सिंगा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिड. रोजेपछि ब्याटिड.मा उत्रिएको हंगकंगले २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो ।
हंगकंगका लागि अंशुमान रथ र शाहिद वासिफको ८४ रनको विशाल साझेदारी गरे ।हङकङका ओपनर अंशुमानले सर्वाधिक ८० रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। वासिफले भने २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले।
खेलमा शिव माथुर २६ रनमा आउट भए । यास्मिन मुर्तजाले ९,नस्रुल्ला रानाले ८, मोहम्मद हसद खान र निजाकत खानले २ ।२ रन बनाए भने बाबर ह्यातले खाता खोल्न सकेनन । इशन खान शून्य रनमा नटआउट रहे ।
हंगकंगलाई रोक्ने क्रममा नेपालका शेर मल्लले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। करण केसीले २ विकेट लिँदा सन्दीपले १ विकेट झारे।








