Prakash Adhikari June 10, 2026

 

काठमाडौं, २७ जेठ । चार कारोबार दिनदेखि ओरालो लागेको नेपालको शेयर बजार बुधबार सामान्य अंक बढेर बन्द भएको छ।

यस दिन धितोपत्र बजार परिसूचक २.५७ अंक बढेर २७३६.१७ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५६ स्टकको ९२ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ८.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने सिटि होटलको करिब साढे १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

Share Now