Prakash Adhikari June 11, 2026

काठमाडौं, २८ जेठ । संसदमा देखिएको गतिरोध अन्त्य गर्नका लागि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधवार प्रतिनिधि सभालाई संबोधन गर्नुभयो ।

प्रधानमन्त्री बालेन्द्र साहले जेठ १७ गते नेपाल र भारतको सीमा विवादका बारेमा नेपालले पनि कतिपय ठाउँमा भारतको सीमा मिचेको रहेछ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएपछि त्यसलाई सच्याउनुपर्ने मागसहित प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो ।

प्रधानमन्त्री संसदमा उपस्थित भएर स्पष्ट पार्न वा सच्याउन पनि तयार नहुने, सत्तापक्ष नेपालले पनि भारतीय सीमा मिचेकै हो भनेझै प्रमाण खोज्न तल्लिन हुने र संसदमा गतिरोध कायम रहँदा जेठ १५ मा पेस भएको बजेटको छलफल प्रभावित हुने, जनताका जल्दाबल्दा समस्यामा ध्यान दिन नसक्ने र सीमासम्बन्धी विषयमा प्रतिनिधिसभाको दुईतिहाई मत मौन बसेको घट्नाले विश्वभर गलत सन्देश जाने भय देखेर गतिरोध अन्त्य गर्न उहाँ रोष्टममा उभिनुभएको थियो ।

उहाँले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाभिमान, संसदीय परम्परा, नेपाली कांग्रेसको इतिहास र राष्ट्र निर्माणका चार स्तम्भका बारेमा यति सुस्पष्ट र मर्यादित ढंगले कुरा राख्नुभयो, त्यसले उहाँको राजनीतिक कद मात्र होइन, नेपाली कांग्रेसको जिम्मेवार प्रतिपक्षको भूमिका र संसदको गरिमा नै उचो बनाएको छ ।

Share Now