काठमाडौं, २९ जेठ । विशेष सरकारी वकिल कार्यालयले एकैपटक ३९ जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले ३५ प्राकृतिक व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
‘३५ जना व्यक्ति र ४ वटा संस्थाहरूलाई विपक्षी बनाएर बिहीबार विशेष अदालतमा अभियोग पत्र दर्ता गरिएको जानकारी विशेष सरकारी वकिल कार्यालयका प्रवक्ता पूर्णेन्द्र पाण्डेयले दिनुभएको छ । यस मुद्दामा कुल बिगो रकम २२ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लामो अनुसन्धान र प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। सम्पत्ति शुद्धीकरणमा बिगोको दोब्बर जरिवाना र दश वर्षसम्म कैद सजायको व्यवस्था छ।
विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दामा व्यवसायी दीपक भट्टसहित साहिल अग्रवाल र सुलभ अग्रवाललाई विपक्षी बनाइएको छ। यस्तै, बीमा र लघुवित्त कम्पनीलाई पनि मुद्दामा विपक्ष बनाइएको छ।
सरकारी वकिलले भट्ट र साहिल अग्रवाललाई भने मुद्दासाथ विशेष अदालतमा उपस्थित समेत गराएको थियो। मुद्दाको रुजु प्रक्रिया लामो समय चलेपछि बिहिवार अभियोजनमा परेकाहरुको थुनछेक बहस भने सुरु भएन । शुक्रबार दुवैको थुनछेक बहस सुरु हुने बताइएको छ। दीपक र साहिल दुवै जनालाई हालसम्म न्यायिक हिरासतमा राखिएको छ।








