Prakash Adhikari June 28, 2026

न्यूयोर्क (संयुक्त राज्य अमेरिका), १४ आषाढ । फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत भएका अन्तिम तथा निर्णायक खेलहरूमा रोमान्चक नतिजा आएका छन्। न्यूयोर्क न्यूजेर्सी स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले पानामालाई २–० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

अर्कोतर्फ, फिललाडेल्फिया स्टेडियममा भएको खेलमा क्रोएसियाले घानालाई २–१ ले हराउँदै समूहको उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ।

पहिलो हाफमा पानामाको बलियो रक्षापंक्तिलाई तोड्न संघर्ष गरेको इंग्ल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डका लागि स्टार खेलाडीहरूले दोस्रो हाफमा चम्किँदै जित निश्चित गरे। खेलको ६२औँ मिनेटमा बुकायो साकाको कर्नर क्रसलाई सदुपयोग गर्दै जुड बेलिङ्घमले उत्कृष्ट भली गोलमार्फत इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए।

पहिलो गोल भएको ठीक चार मिनेटपछि (६६औँ मिनेट) मार्कस र्यासफोर्डको क्रसमा कप्तान ह्यारी केनले हेडमार्फत सानदार गोल गर्दै अग्रता दोब्बर बनाए। यो गोलसँगै ह्यारी केन विश्वकपमा इंग्ल्यान्डका लागि इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी (११ गोल) बनेका छन्, उनले ग्यारी लिनेकरको कीर्तिमानलाई तोडेका हुन्।

पानामाका जोसे फाजार्डोले खेलको अन्तिम समयमा गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए। पानामा समूह चरणका तीनवटै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।

अर्को रोमाञ्चक भिडन्तमा क्रोएसियाले घानालाई कठिन खेलमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गर्‍यो। खेलको ३१औँ मिनेटमा २२ वर्षीय युवा मिडफिल्डर पेटार सुसिचले बक्स बाहिरबाट ३० यार्ड टाढाको सानदार प्रहारमार्फत गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाए। दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको घानाका लागि ७३औँ मिनेटमा डिफेन्डर डेरिक लुकासेनले फ्रि–किकको अवसरमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेल बराबरी तर्फ धकेलिरहेका बेला ८३औँ मिनेटमा अनुभवी कप्तान लुका मोड्रिचको कर्नरलाई सदुपयोग गर्दै निकोला भ्लासिचले प्रहार गरेको हेड गोल पोस्टको भित्री भागमा ठोक्किँदै जाली चुम्यो र क्रोएसियाको २–१ को जित सुनिश्चित भयो।

घाना पराजित भए पनि ३ खेलबाट ४ अंकसहित ‘सर्वोत्कृष्ट तेस्रो टोली’ को रूपमा नकआउट चरणमा पुग्ने गणितीय सम्भावना अझै बाँकी नै रहेको छ।

Share Now