काठमाडौँ, १५ आषाढ । आज १५ असार । नेपाली किसानहरुको लागि असाध्यै महत्वको दिन । नेपालीहरुको मुख्य खाद्यान्न बाली धान रोप्ने उपयुक्त समय । यो दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि परिभाषित गरिन्छ । नेपालका सबै कृषियोग्य जमिनमा दिगो सिंचाईको सुविधा नपुगेकोले नेपालको कृषि बढी आकाशे पानीमा निर्भर छ । मनसुनी बर्षा र उपयुक्त तापक्रमका कारण यो समयमा रोपेको धानले पानी पर्याप्त पाई हुर्कन सक्दछ । यसैले यो दिनलाई मानो खाएर मुरी उब्जाउने काममा सरिक हुने उपयुक्त समय मानिन्छ । यो दिनमा किसान परिवारमा कसैलाई फुर्सद नहुने भएकोले यस दिनको कामको चटारोलाई १५ असारको चटारो पनि भनिन्छ ।
नेपालले विगत केही दशकयता यस दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । काम अधिक गर्नुपर्ने र खाने समय पनि बचत हुने भएकोले यस दिन दही चिउरा खाने चलन पनि छ । यसलाई साँस्कृतिक पर्वको रुपमा पनि मनाउन थालिएको छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
धान दिवस
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।








