लण्डन(संयुक्त अधिराज्य), १५ आषाढ (एजेन्सी) । एलिस पेरी र एश गार्डनरको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै आइसीसी महिला टी ट्वान्टी विश्वकप २०२६ को सेमिफाइनल पुगेको छ। भारत समूह चरणबाटै बाहिरिएको छ।
लर्ड्समा आइतबार भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ७० रन बनाएको थियो।
कप्तान हरमनप्रीत कौरले अविजित ५६ रन र स्मृति मन्धानाले ३८ रन बनाइन् । सेफाली वर्मा र जेमिमा रोड्रिग्वेजले समान ३४ । ३४ रन जोडे।
महिला टी ट्वान्टी विश्वकपमा अष्ट्रेलियाविरुद्ध भारतले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो।
१ सय ७१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पेरीले ५६ रन बनाइन् । गार्डनर ५३ रनमा अविजित रहिन्।
दुवैले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। जर्जिया वेयरहामले विजयी रन प्रहार गरिन्।
अन्तिम ६ ओभरमा अष्ट्रेलियालाई ६२ रन आवश्यक थियो। पेरी र गार्डनरले भारतीय बलरमाथि दबाब सिर्जना गर्दै खेल अष्ट्रेलियाको पक्षमा पारे।
यो जितसँगै १० अंकका साथ अष्ट्रेलिया समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको छ। भारतको हारपछि ८अंक बटुलेको दक्षिण अफ्रिकाले पनि अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। भारतले ५ खेलमा ६ अंक मात्र जोड्न सक्यो ।
अब सेमिफाइनलमा अष्ट्रेलियाले वेस्ट इन्डिजसँग खेल्नेछ भने दक्षिण अफ्रिकाले इंग्ल्यान्डको सामना गर्नेछ। भारत लगातार दोस्रो महिला टी ट्वान्टी विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ।








