Prakash Adhikari June 29, 2026

-नील मर्फी

लण्डन (संयुक्त अधिराज्य),१५ आषाढ(बीबीसी) । युरोपमा गर्मीयामको आरम्भमै देखापरेको अभूतपूर्व उष्णलहरका कारण सयौँ अतिरिक्त मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताउनुभएको छ ।

अत्यधिक गर्मीको अवस्था पूर्वतर्फ सर्दै गर्दा आइतवार उक्त महादेशभरि ( जर्मनी, पोल्यान्ड र चेक रिपब्लिकसहित ( तापक्रमका रेकर्डहरू तोडिएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै डब्ल्यूएचओका प्रमुख टेड्रस एडहानम गेहब्रेयससले जुन २१ तारिखयता करिब १३ सय अतिरिक्त मृत्युहरू भएका छन् जसको साइनो युरोपमा देखा परेको अत्यधिक तापक्रमसँग रहेको छ।

मौन हत्यारा

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अत्यधिक गर्मीले मानिसहरूको ज्यान जाने हुँदा त्यसलाई मौन हत्यारा पनि भन्ने गरिएको बताउनुभयो।

“युरोपका घरहरू, कार्यालयहरू तथा स्कूलहरू यस प्रकारको चर्को गर्मी झेल्न सक्ने गरी बनाइएकै हुँदैनन्”, उहाँले भन्नुभयो।

आइतवार बिहान फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधवारयता देशभरिमा १ हजार अतिरिक्त मृत्यु भएको उल्लेख गर्‍यो।

कतिपय यस्ता घटना ६५ वर्षभन्दा माथि उमेरका मानिसहरूमा भएको उसले भनेको छ। साथै घरभित्रै हुने मृत्युहरूको सङ्ख्या पनि ४० प्रतिशतले बढ्ता देखिएको उसले जनाएको छ।

“विश्वमै युरोप एकदम द्रुत गतिले तातिरहेको महादेश हो। संसारको औसत तापमान वृद्धिभन्दा यहाँ दोबर दरले तापमान बढिरहेको छ”, डब्ल्यूएचओका प्रमुखले भन्नुभयो।

उहाँका अनुसार यस महादेशका दशौँ लाख मानिसहरू हाल ‘अत्यधिक गर्मीमा बाँचिरहेका छन् तथा सयौँ मानिसहरू मरेका छन् अनि स्कूलहरू बन्द गरिएका छन् भने ऊर्जा केन्द्रहरू चापमा परेका छन्।’

जर्मनीमा सबभन्दा ताता दिनहरू

आइतवार जर्मनीले लगातार तेस्रो दिन हालसम्मकै तातो दिन बेहोर्‍यो जब त्यहाँको पूर्वी इलाकामा अधिकतम तापक्रम ४१.७ डिग्री सेल्सियस पुग्यो।

पूर्वी ब्रान्डनबर्गस्थित पोल्यान्डसँगको सिमाना नजिकैको एक मौसम केन्द्रमा आइतवार ४१.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भयो।

चेक रिपब्लिकमा दुई दिनमा दोस्रो पटक तापक्रमको रेकर्ड तोडियो जब प्रागको उत्तरमा रहेको डोक्सानीमा तापक्रम ४१.७ डिग्री सेल्सियस पुग्यो।

त्यहाँको मौसम निकाय सीएचएमआईका अनुसार आइतवार उच्च विन्दुमा तापक्रम पुगेपछि पश्चिमी इलाकाहरूमा हावाहुरीको प्रक्षेपण गरिएको छ।

पोल्यान्डले पनि हालसम्मकै रेकर्ड तोडेको त्यहाँको मौसमसम्बन्धी निकायले एएफपी समाचार संस्थालाई जनाएको छ। आइतवार त्यहाँको नगर स्लुबिसमा ४०.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

जलवायु परिवर्तनको भूमिका

डब्ल्यूएचओका प्रमुखले युरोपमा संसारको औसतभन्दा दोबर दरले तापक्रम बढिरहेको भन्दै त्यसका निम्ति जलवायु परिवर्तन जिम्मेवार रहेको बताए।

“जलवायु परिवर्तन तथा विश्वव्यापी तापमान वृद्धिका असरले गर्दा कैयन् वर्षहरूमा एकाधपटक देखापर्ने स्तरका तापलहर अचेल वर्षैपिच्छे देखा परिरहेका छन्”, उहाँले भन्नुभयो।

उहाँले युरोपेली देशहरूलाई स्वास्थ्य रक्षाका निम्ति ूतापसँग जुझ्ने स्वास्थ्य कार्ययोजनाू लागु गर्न सुझाव दिनुभयो।

युरोपेली अधिकारीहरूले गर्मीसँग सम्बन्धित रोग निवारणका लागि कडा कदमहरू चालिरहेका छन्।

गत बिहीवार नेदर्ल्यान्ड्समा चर्को गर्मीका कारण पूर्वनिर्धारित सङ्गीत समारोह रद्द गरियो।

प्यारिसमा सार्वजनिक स्थलमा मदिरा पान गर्न रोक लगाइयो अनि निर्धारित प्राइड मार्च रद्द गरियो।

उक्त रोक नर्वेसँग फ्रान्सको विश्वकप खेलको अगाडि लागु गरिएको थियो जुन आइतवार बिहानसम्म कायम थियो।

गर्मी बढेयता कम्तीमा ७४ जना मानिसहरूको डुबेर मृत्यु भएको त्यहाँका आन्तरिक मामिलामन्त्रीले जनाएका छन्।

‘सुपरिवेक्षण नगरिएका खोला, ताल तथा पोखरी’हरूमा त्यस्ता घटना भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

जुन महिनामा देखिएको रेकर्ड भङ्ग गरेका यस्ता तापलाई ‘हिट डोम’ भनिने प्रभावका कारण भएको भनिएको छ।

यस्तो मौसम प्रणालीमा हावा जमिनको सतह नजिक ओर्लन्छ र त्यसो गर्दा झन् झन् खाँदिँदै अनि तातिँदै जान्छ।

त्यस्तो हावामा पानीका कण कम हुन्छन् जसकारण बादल बन्दैनन्। फलस्वरूप चर्को घामले वातावरण झन् तातिन्छ।

Share Now