गौडालुपे(मेक्सिको), १६ आषाढ (एजेन्सी ) । नेदरल्यान्ड्सलाई पेनाल्टी सुट आउटमा हराउँदै मोरोक्को फिफा विश्वकपको अन्तिम १६ प्रवेश गरेको छ।
निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा मोरोक्कोले बाजी मार्यो। क्वाटर फाइनलमा प्रवेशका लागि मोरोक्कोले क्यानडासँग खेल्नेछ।
नेदरल्यान्डस विश्वकपबाट बाहिरिने दोस्रो युरोपियन राष्ट्र बन्यो। यसअघि जर्मनी पराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो।
मोरोक्कोले पहिलो हाफमा दबाब बनायो। २० औं मिनेटमा मोरक्कोका मिडफिल्डर निल एल आयनाउईले हेडरलाई नेदरल्यान्ड्सका गोलकिपर बार्ट भेरब्रुगेनले बचाए।
लगत्तै २१ औं मिनेटमा मोरक्कोका कप्तान अक्राफ हाकिमीको पावरफुल प्रहारलाई गोलकिपर बार्टले फेरि बचाए।
४४औं मिनेटमा भने नेदरल्यान्ड्सका मिकी भान डे भेनको प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
खेलको ७२ औं मिनेटमा नेदरल्यान्ड्सले अग्रता बनायो। वाउट वेघोर्सटले फ्लिक गरेको बललाई क्रिसेन्सियो समरभिलले अगाडि बढाएर दिएको बललाई कोडी गाक्पोले पहिलो टचमै गोल गरे। गोल गरेपछि गाक्पो निकै भावुक देखिए।
उनलाई बधाई दिन टोलीका सबै खेलाडी मात्र होइन बेन्चमका खेलाडी मैदान भित्र नै पुगे। गाक्पो र उनकी पत्नी नोआ भान डर बाइले गत शनिबार गर्भावस्थामै आफ्नो छोराको निधन भएको दुःखद खबर सार्वजनिक गरेका थिए।
निर्धारित ९० मिनेटको खेलमा नेदरल्यान्डसले १-० को अग्रता बनाएपनि इन्जुरी समयमा मोरोक्कोले नाटकीय शैलीमा बराबरी गोल फर्कायो।
ताल्बीले बाँया साइडबाट दिएको क्रसमा इशा डियोपको हेडरले सही दिशा लियो। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।
निर्धारित समय १-१ बराबरीमा सकियो। खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको छैटौं मिनेटमा सोफियने रहिमीले डड डिफेन्डरहरूलाई क्लोज रेन्जबाट हानेको प्रहारलाई किपरले रोके। अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन सकेन। खेलको निर्णय पेनाल्टी सुट आउटबाट भयो।
तर पेनाल्टी सुटआउटमा यासिन बोनो नायक बने। उनले उत्कृष्ट बचाउ गर्दै मोरक्कोलाई ३-२ को जित दिलाए।२-२ को बराबरीपछि पाँचौं नम्बर मोरोक्कोको लागि साइबरीले निर्णायक गोल गरे।
मोरक्कोले अन्तिम १६ मा स्थान बनाउँदै जुलाई ४ मा ह्युस्टनमा सह–आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।








