- ओलिभिया आयरल्यान्ड
तहरान(इरान), २२ आषाढ (बीबीसी) । इरानका नयाँ सर्वोच्च नेता मूज्तबा खामेनेई आफ्ना पिता एवं दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको अन्तिम संस्कारका कार्यक्रमहरूमा हालसम्म देखा पर्नुभएको छैन। तर आइतवार दिवङ्गत सर्वोच्च नेतालाई अन्तिम श्रद्धाञ्जलि दिन हजारौँ मानिसहरूसँगै इरानी सत्ताका वरिष्ठ नेताहरू उपस्थित भने भएका थिए।
अली खामेनेईका अन्य तीन छोराहरू मसूद, मुस्तफा र मेसाम आइतवारको कार्यक्रममा सहभागी हुनुभयो।
ती कार्यक्रममा राष्ट्रपति मसूद पेजेस्कियानका साथै रिभोल्युशनरी गार्ड्सका प्रमुख अहमद बाहिदी पनि उपस्थित हुनुहुन्थ्यो।
उहाँको पिताको ज्यान जाने गरी भएको अमेरिकी-इजरेली हमलाकै बेला मूज्तबा पनि गम्भीर घाइते भएको चर्चा चलेको थियो। । त्यसयता उहाँलाई सार्वजनिक रूपमा देखिएको छैन।
साताभरि कार्यक्रम
दिवङ्गत सर्वोच्च नेताले इरानमा सन् १९८९ देखि गत फेब्रुअरीसम्म शासन गर्नुभयो।
उहाँको अन्तिम संस्कारका कार्यक्रमहरू शुक्रवारदेखि सुरु भएका थिए। यो साताभरि इरान तथा इराकमा समेत थप कार्यक्रमहरू हुने भएका छन्।
इरानी अधिकारीहरूले ती कार्यक्रमहरूमा सवा एक करोडदेखि दुई करोडसम्म मानिसहरू सहभागी हुने भनेका छन्। उनीहरूले यसलाई शताब्दीकै महान अन्तिम संस्कार भनेका छन्।
हाल उहाँको पार्थिव शरीर तेहरानको ग्र्यान्ड मोसला परिसरमा राखिएको छ। अन्तिम संस्कारको अगुवाइ ९७ वर्षका अग्रणी शिया धर्मगुरु जाफर शोबानीले गरिरहनुभएको छ।
आइतवार इरानभरि सार्वजनिक विदा दिइएको थियो।
सोमवार उहाँको पार्थिव शरीरलाई ग्र्यान्ड मोसलाबाट लगेर राजधानीको परिक्रमा गराइने बताइएको छ।
सबै कार्यक्रमहरू सोचविचार पुर्याएर निर्धारण गरिएको भनिएको छ। इजरायलले नयाँ सर्वोच्च नेताको समेत हत्या गर्न सक्ने त्रासका माझ मूज्तबा खामेनेईको ती कार्यक्रमहरूमा अनुपस्थिति रहेको बताइन्छ।
युद्धरत पक्षबीच कमजोर युद्धविराम कायम छ। स्थायी शान्ति सम्झौताका प्रयास जारी रहँदा दुवै पक्षले सैन्य कारबाही पुनस् सुरु गर्न आफूहरू तयार रहेको चेतावनी दिँदै आएका छन्।
शान्तिवार्ता रोकियो
अमेरिकाको न्यूज वेबसाइट एक्सिओसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उद्धृत गर्दै इरानमा जारी अन्तिम संस्कारका कार्यक्रमहरूका माझ शान्तिवार्ता केही समय रोकिएको जनाएको छ।
इरानी सत्ताका सबै वरिष्ठ नेताहरू ती कार्यक्रममा उपस्थित भएका बेला ‘एकै प्रहार’ले सबै जनालाई सिध्याइदिन सकिने भन्दै ट्रम्पले ‘तर त्यसपछि वार्ता गर्ने पक्ष बाँकी नहुने भएकाले हामी त्यसो गर्ने छैनौ” भनेको एक्सिओसले उल्लेख गरेको छ।
साथै इरानीहरू रोइरहेको दृश्य देखेर आफू चकित परेको भन्दै दिवङ्गत खामेनेईलाई उनीहरूले घृणा गर्ने आफूले ठानेको ट्रम्पले बताउनुभयो। “सायद ती आँसु नक्कली होलान्”, उहाँले भन्नुभयो।
ट्रम्पको भनाइप्रति प्रतिक्रिया जनाउँदै ५० वर्षीया जाहरा साफेईले भन्नुभएको छ, “हामीले नक्कली आँसु खसाउन ४७ वर्षअघि क्रान्ति गरेका थिएनौँ। हामीले नक्कली आँसु खसाउन यी सबै शहीदको बलिदान दिएका होइनौँ।”
समाचारसंस्था एपी तथा गार्डिअनले दिएका विवरणहरूमा मानिसहरूले राष्ट्रपति ट्रम्पको मृत्युको माग गरिरहेका थिए। साथै त्यहाँ उपस्थित मानिसहरूले ‘ट्रम्पलाई मार’ तथा ‘बीबी (नेतन्याहू)लाई मार’ भनेर लेखिएका ब्यानर बोकेका थिए।
खामेनेईको शवपेटिकालाई उहाँकी एकवर्षीया नातिनी जाहरा मोहमदी गोल्पायेगनीका साथै अन्य तीन आफन्तको शवपेटिकासँगै राखिएको छ।
आफ्नो शासनकालभरि अली खामेनेईले पश्चिमसँग टकरावको नीति लिनुभएको थियो। उहाँले अमेरिका तथा इजरायलविरोधी समूहहरू ( गाजामा हमास, लेबननमा हिज्बोल्लाह र यमनमा हूथी) लाई समर्थन गरिरहनुभयो।
सोमवार तेहरानमा परिक्रमा गराएपछि उहाँको शवपेटिकालाई मङ्गलवार कोम सहर अनि त्यसपछि बुधवार इराकको महत्त्वपूर्ण शिया स्थलमा लगिने छ।
बिहीवार उहाँको शवलाई गृहनगर माशादमा समाधिस्थ गरिने छ।








