Prakash Adhikari July 14, 2026

क्वाललम्पुर(मलेसिया), ३० आषाढ । मलेसियामा जारी एसीसी महिला यु १९ प्रिमियर कपमा नेपालले हङकङलाई शानदार ढंगले पराजित गर्दै अपराजित टिमको रुपमा क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

नेपालको जितमा कप्तान सोनु पाख्रिनको अलराउण्ड प्रदर्शनको महत्वपूर्ण योगदान रह्यो । उनले ब्याटिड.तर्फ ९० रन जोडिन भने बलिड.मा ४ विकेट लिइन ।

क्वाललम्पुरको वायुमास ओभलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । २ सय १२ रनको विशाल लक्ष्य पाएको हंगकंगले २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ३० रनमात्र जोड्न सक्यो ।

हंगकंगका लागि वाड. विड. क्यु हेलीले १३, स्टोर्म इमिस पार्करले ५, सो वान तुड.ले ४, अरुज फतिमाले २, लिउड. मान किउ मेगनले १ रन बनाए । अरु पाँच जनाले खाता नै खोल्न सकेनन् ।
हंगकंगलाई रोक्ने क्रममा नेपालकी क्याप्टेन सोनु प्राख्रिनले ४ , मनिषा उपाध्यायले २,क्रिश्मा गुरुड. र स्नेहा महराले एक एक विकेट लिए ।

यस अगाडि हङकङले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

ओपनर साना प्रवीण ४ रनमा आउट हुँदा नेपालले ६ रन बनाएको थियो। तर यसपछि दोस्रो विकेटका लागि सावित्री धामी र सोनीले १ सय ३६ रनको सानदार साझेदारी गर्दै नेपालको इनिङसलाई ठूलो योगफलतर्फ डोर्याए।

यस क्रममा सावित्रीले ५२ रन जोडिन्। उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि कतार र सिंगापुर विरूद्ध पनि उनले अर्धशतक बनाएकी थिइन्।

क्रिजमा टिकेकी सोनीले भने ९० रन प्रहार गरिन्। उनले ६० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरिन्। उनले चौका र छक्काबाट मात्र ५८ रन जोडिन्। शतक नजिक पुगेकी सोनी आर्जु फतिमाको बलमा आउट भइन्।

अलिसा कुमारी यादव अविजित २३ रनमा रहिन्। उनले १२ बल खेल्दै ३ चौका प्रहार गरिन्।

नेपाललाई रोक्ने क्रममा बलिङमा निम्ब्रा अरबले २, आर्जु फतिमा र वोङ‌ विङले १ । १ विकेट लिए।  यसअघि नेपालले सिंगापुरलाई १ सय ५१ रन र कतारलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको थियो।

Share Now