काठमाडौं, ३० आषाढ । साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन धितोपत्र कारोबार परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको हो।
मंगलबार नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ८३ स्टकको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री बाट ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ऋणपत्रहरुको कारोबार बढेको छ । मंगलवार ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य यस दिन सर्वाधिक १०.२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० को मूल्य यस दिन सर्वाधिक ९.६८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार भएका १० शीर्ष स्टकहरुमा ९ ऋणपत्र रहेका छन्। यस दिन ५२ करोड ७१ लाख रुपैयाँबराबरको १० प्रतिशत केबिएल डिबेञ्चर २०९० कारोबार भएको छ भने ३९ करोडभन्दा बढीको १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० किनबेच भएका छ। त्यस्तै, यस दिन साढे ३७ करोड रुपैयाँभन्दा बढीको ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर खरिदबिक्री भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ ।
आज आन्तरिक राजश्व विभागले स्वीकृत अवकाश कोषको लगानी र डिबेन्चर बिक्रीको आम्दानीमा कर नलाग्ने स्पष्ट पारेपछि डिबेञ्चरमा लगानीकर्ताको आकर्षण बढेको हो ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।








