काठमाडौं, ८ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार नोपलको शेयर बजार बढेर बन्द भएको छ ।
यस दिन धितोपत्र बजार परिसूचक ७.९० अंक बढेर २७३४.६३ विन्दुमा पुगेको छ।
यस दिन धितोपत्र बजार परिसूचकसंगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५३ स्टकको १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशत बढेको छ भने सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
कारोबारमा आएको १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेञ्चरको मूल्य यस दिन सर्वाधिक ८.९२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०८ प्रतिशत घटेको छ।








