प्रधानमन्त्रीद्धारा राष्ट्रपतिसंग भेटः सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्न राष्ट्रपतिको सल्लाह
काठमाडौं, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ।
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न सुझाव दिनुभएको थियो।








