- रविकान्त अधिकारी
२००६ सालमा लमजुड.को दुराडाँडाका बाँहुनहरुले हलो जोतेर सामाजिक र आर्थिक क्रातिको बिगुल फुके । त्यसले पश्चिम नेपालमा ठूलो हलचल ल्यायो । परम्परागत वर्णाश्रम अनुसारको कार्य विभाजनमा चलेको रुढीबादी समाजमा यो एक क्रान्तिकारी कदम थियो ।यसको उद्देश्य त समाजमा विद्यमान मालिक र श्रमिक वर्गबीचको अन्तर वा विभेद हटाउनु थियो । शासक र शासितबीचको विभेद मेट्नु थियो । राणाहरु जो आफूलाई शासक ठान्थे र आम नागरिकलाई रैति सम्झन्थे त्यो विभेद हटाउनु थियो । आम नागरिकमा समानताको सन्देश प्रवाह गर्नु थियो ।
लमजुङको दुराडाँडा (हाल सुन्दरबजार नगरपालिका–४, अर्चल्यानी) मा वि.सं. २००६ साल साउन ११ गते भएको हलोक्रान्ति नेपालको सामाजिक इतिहासको एक युगान्तकारी घटना हो । पण्डित तोयनाथ अधिकारीको नेतृत्वमा ले. शेषकान्त अधिकारी, हरिभक्त पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना ब्राह्मणले सामूहिक रूपमा हलो जोतेर शताब्दीयौँ देखि जरा गाडेको “ब्राह्मणले हलो जोत्न हुँदैन“ भन्ने रूढिवादी मान्यतालाई चुनौती दिएका थिए । यो घटना केवल कृषि कार्यको आरम्भ मात्र नभई श्रमको सम्मान, सामाजिक समानता र चेतनाको उद्घोष थियो ।
१. तत्कालीन सामाजिक अवस्था
२००६ सालतिर नेपाल राणा शासनको अधीनमा थियो । समाज जातीय विभाजन, छुवाछुत, धार्मिक अन्धविश्वास र श्रमप्रतिको विभेदले ग्रस्त थियो । ब्राह्मणले हलो जोत्नु सामाजिक बहिष्कारको विषय मानिन्थ्यो । कृषिप्रधान समाज भए पनि उच्च जातका मानिसहरूलाई आफ्नै खेत जोत्न नदिने प्रथा विद्यमान थियो । यसले कृषि उत्पादन, आत्मनिर्भरता र सामाजिक समानतालाई कमजोर बनाएको थियो । यही अवस्थाविरुद्ध दुराडाँडाका केही सचेत व्यक्तिहरूले श्रमलाई सम्मानित बनाउने र जातीय विभेद अन्त्य गर्ने उद्देश्यले हलो जोत्ने निर्णय गरे ।
२. हलोक्रान्तिको वास्तविक सार
हलोक्रान्तिको मूल सन्देश थियो,
– श्रम कुनै जातको बन्धन होइन ।
– कृषि सबैको सम्मानित पेशा हो ।
– जन्मका आधारमा होइन, कर्मका आधारमा समाज निर्माण हुनुपर्छ ।
– अन्धविश्वासभन्दा विवेक र वैज्ञानिक सोच महत्वपूर्ण हुन्छ ।
– सामाजिक परिवर्तनका लागि साहसिक नेतृत्व आवश्यक हुन्छ ।
यस अर्थमा हलोक्रान्ति सामाजिक, सांस्कृतिक र मानसिक क्रान्ति थियो ।
३. तत्कालीन प्रभाव
हलो जोतेपछि सहभागीहरू सामाजिक बहिष्कार, अपमान र सरकारी दमनको सामना गर्न बाध्य भए । राणा सरकारले अभियान कर्मीहरूलाई पक्राउ गरी कारबाही गर्यो । तर आन्दोलन रोकिएन । यसको प्रभाव लमजुङबाट तनहुँ, कास्की, गोरखा लगायत अन्य जिल्लासम्म फैलियो ।
४. राजनीतिक चेतनामा योगदान
हलोक्रान्तिले सामाजिक परिवर्तनलाई राजनीतिक परिवर्तनसँग जोड्यो । जातीय विभेदविरुद्धको संघर्षले लोकतान्त्रिक चेतना, समान अधिकार र नागरिक स्वतन्त्रताको भावना बलियो बनायो । त्यसपछि आएको २००७ सालको प्रजातान्त्रिक आन्दोलनको चेतना विस्तारमा पनि यसले अप्रत्यक्ष योगदान पु¥याएको मानिन्छ ।
५. आजको सन्दर्भमा हलोक्रान्ति
आज नेपालको संविधानले समानता, छुवाछुत निषेध र श्रमको सम्मानलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । ब्राह्मणले हलो जोत्नु आज सामान्य कुरा भएको छ । कृषि पेशाप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ र शिक्षित युवाहरू पनि कृषितर्फ आकर्षित हुन थालेका छन् ।
यद्यपि नयाँ चुनौतीहरू देखिएका छन् ।
– कृषि भूमिको खण्डीकरण ।
– युवाको वैदेशिक पलायन ।
– खेतीयोग्य जमिन बाँझो हुनु ।
– आयातमुखी कृषि प्रणाली ।
– परम्परागत कृषिको अवमूल्यन ।
त्यसैले हलोक्रान्तिको मूल सन्देश—श्रमको सम्मान, आत्मनिर्भरता र उत्पादनमुखी समाज—आज पनि उत्तिकै सान्दर्भिक छ ।
६. राज्यको भूमिका र चुनौती
दुराडाँडामा प्रत्येक वर्ष साउन ११ गते हलोक्रान्ति दिवस मनाइन्छ । हलोक्रान्तिलाई राष्ट्रिय स्तरमा चिनाउने, अभियन्ताहरूलाई राष्ट्रिय सम्मान दिने तथा हलोक्रान्ति स्थललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान लगायतका संस्थाले यस विषयमा अनुसन्धान र विमर्शलाई पनि अघि बढाएका छन् भन्ने सुनिएको छ, यसमा सबैको साथ सहयोगको उतिकै खाँचो रहेको छ ।
निष्कर्ष
साउन ११ को हलोक्रान्ति कुनै सामान्य कृषि घटना थिएन । यो नेपाली समाजमा जातीय विभेदविरुद्धको विद्रोह, श्रमको सम्मानको घोषणा, सामाजिक समानताको आन्दोलन र आधुनिक चेतनाको प्रारम्भ थियो । यसको प्रभाव तत्कालीन दुराडाँडामा मात्र सीमित रहेन; यसले नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणको यात्रामा महत्वपूर्ण आधार तयार ग¥यो ।
आज, करिब आठ दशकपछि पनि हलोक्रान्तिले दिएको शिक्षा उत्तिकै सशक्त छ—राष्ट्रको समृद्धि श्रम, उत्पादन, समानता र वैज्ञानिक चेतनाबाट मात्र सम्भव हुन्छ । त्यसैले साउन ११ लाई केवल ऐतिहासिक सम्झनाको दिन होइन, श्रमको सम्मान, सामाजिक न्याय र आत्मनिर्भर नेपालको संकल्प दिवस का रूपमा ग्रहण गर्नु समयको आवश्यकता हो ।








