Prakash Adhikari September 6, 2026
काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ भने ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये  ३ सय २५ महिला, ५ सय २३ पुरुष तथा ४ सय ९३ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष २ हजार ८ सय ६३, महिला ५ सय ७५ तथा विदेशी नागरिकतर्फ पुरुष २ सय ६९ र महिला ३ सय ३२ र अन्य पाँच जना रहेका प्रवक्ता  काफ्लेले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।
फेला परेकामध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।
बाढीपछि हालसम्म ९ हजार १ सय ५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मृतक १ हजार २ सय ८६ जना तथा मृतकका आफन्त १ हजार १ सय ८६ जना गरी २ हजार ४ सय ७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ ।
बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।
Share Now