Prakash Adhikari July 31, 2026

काठमाडौं, १५ साउन । निजी क्षेत्रका तीन संगठनहरुले देशमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

साउन १४ गते अलग अलग विज्ञप्ति प्रकाशित गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शले यस्तो अपिल गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख गरेको छ ।
कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, हिंसा र तनावले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको पूर्वशर्तका रूपमा महासङ्घले व्याख्या गरेको छ । महासङ्घले जुनसुकै मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ । साथै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गर्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई सामान्य बनाउँदै शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महासङ्घले विज्ञप्तिमा मार्फत् उल्लेख गरेको छ ।

सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।

परिसङ्घले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमार्फत परिसङ्घले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान संवाद र वार्तामार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा वा द्वन्द्वका माध्यमबाट समाधान ननिस्कने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ ।

परिसङ्घले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार र पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति दुःख र चिन्ता व्यक्त गर्दै आमनागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न समाजका विभिन्न सङ्घ संस्था, निजी क्षेत्र तथा नेपाल उद्योग परिसङ्घका प्रदेश र जिल्ला शाखालाई शान्ति र सद्भाव प्रवर्द्धन गर्ने गतिविधिमा सक्रिय सहयोग गर्न पनि आह्वान गरिएको छ ।

संयमता,  सद्भाव र  एकता : राष्ट्रिय प्राथमिकता

नेपाल चेम्बर अफ कमर्सले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । तराईका केही जिल्लामा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै चेम्बरले मृतकहरूप्रति श्रद्धाञ्जली र घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बिहीबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताएको छ ।

चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई अपिल गरेको छ । वक्तव्यमा कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गरिएको छ ।

Share Now