Prakash Adhikari August 2, 2026

काठमाडौँ, १७ साउनः पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उहाँका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ ।

नेपालको हिमाली जिल्ला म्याग्दीमा अन्नपूर्ण र धौलागिरी हिमालको फेदमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, पाकिस्तानको काराकोरम हिमश्रृखलाको ब्रोडपीक आरोहणको क्रममा क्याम्प थ्री जानेक्रममा हिमपहिरोमा परेर अस्ताउनुभयो ।

उहाँको साहसिक यात्रा विश्व पर्वतारोहण इतिहासकै प्रेरणादायी अध्याय बनेको छ। साहस, अनुशासन र असम्भवलाई सम्भव बनाउने विश्वासका कारण उहाँले विश्वभर करोडौं मानिसलाई प्रेरित गरिरहनुभएको छ।

म्याग्दीमा जन्मिनुभएका निर्मल चितवनमा हुर्किनुभएको थियो। बाल्यकालमा उहाँको सपना हिमाल चढ़ने नभई आफ्ना बुबा र दाजुभाइ झै बेलायती सेनाको गोर्खा सैनिक बन्ने थियो ।

सन् २००३ मा १८ वर्षको उमेरमै उहाँ बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुनुभयो। त्यसपछि उहाँले आफ्नो मेहनत र क्षमताका आधारमा नयाँ उचाइहरू चढ्न थाल्नुभयो ।

सन् २००९ मा उहाँ बेलायती स्पेसल बोट सर्भिस (एसबीएस) मा प्रवेश गर्ने पहिली गोर्खा बन्नुभयो। एसबीएसलाई बेलायती सेनाको सबैभन्दा उत्कृष्ट विशेष फौजमध्ये एक मानिन्छः एसबीएसमा उहाँले १० वर्षसम्म सेवा गर्नुभयो।

सैन्य सेवाकै क्रममा सन् २०१२ मा सगरमाथा आधार शिविर पुगेपछि उहाँको जीवनले नयाँ मोड लियो। त्यही यात्राले पर्वतारोहणप्रति गहिरो आकर्षण जगायो भने केही समयमै उहाँले ६ हजार १ सय ११ मिटर अग्लो लोबुचे इस्ट सफलतापूर्वका आरोहण पनि गर्नुभयो।

सैन्य सेवाबाट सिकेको अनुशासन, संकटको मूल्यांकन गर्ने क्षमता र अरुको जीवन बचाउने भावना उहाँको पर्वतारोहण यात्राको बलियो आधार बन्यो। यही अनुभवले उहाँलाई उच्च हिमाली उद्धार अभियानमा पनि सफल बनायो।

सगरमाथाको पहिली आरोहणका क्रममा उहाँले ‘डेथ जोन’मा एक आरोहीको एक्लै उद्धार गर्नुभयो। त्यसपछि अरुको ज्यान बचाउन सकियोस् भनेर माथिल्लो शिविरदेखि सबै अक्सिजन प्रयोग गर्ने निर्णय गर्नुभयो।

उहाँले गोर्खा टोलीको पहिलो सफल सगरमाथा आरोहणको नेतृत्व पनि गर्नुभयो। त्यस लगत्तै सगरमाथा, ल्होत्से र मकालु ५ दिनभित्र आरोहण गरेर उहाँले नयाँ विश्व कीर्तिमान कायम गर्नुभयो।

सन् २०११ मा उहाँले सुरक्षित सैन्य करियर छाडेर सबैले असम्भव भनेको ‘प्रोजेक्ट पोसिबल’ सुरु गर्नुभयो। त्यसबेला विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न झन्डै ८ वर्ष लागेको कीर्तिमानलाई उहाँले करिव छ महिना छ दिनमै तोड्दै इतिहास रच्नुभयो।

शिशापाङ्काको चुचुरोमा पुगेपछि उहाँले ‘मिसन अचिभ्ड’ भन्दै आफ्नो लक्ष्य पूरा भएको घोषणा गर्नुभएको थियो। उहाँको उपलब्धिले सही योजना, दृढ संकल्प र सकारात्मक सोच भए असम्भव भन्ने कुरा केही नरहेको सन्देश विश्वभर फैलायो।

सन् २०२० मा उहाँले निम्सदाइ नामबाट नयाँ अभियान सुरु गर्दै आफ्नो अनुभव नयाँ पुस्तासँग बाड्न थाल्नुभयो । पर्वतारोहण प्रशिक्षण, विशेष हिमाली अभियान र सुरक्षित आरोहण संस्कृतिमार्फत उहाँले विश्वभरका आरोहीलाई मार्गदर्शन गर्ने कामलाई निरन्तरता दिनुभयो ।

साहस, नेतृत्व र मानवताको उदाहरण बन्नुभएका निम्स दाइले पर्वतारोहणलाई केवल कीर्तिमान बनाउने माध्यम नभई अरुको जीवन बचाउने जिम्मेवारीका रुपमा पनि स्थापित गर्नुभयो। त्यसैले उहाँको जीवनकथा नेपाली युवाका लागि मात्र नभई विश्वभरका सपना देख्ने सबैका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास गर्न सकिन्छ।

देशका कार्यकारी प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्षनेता, पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले निम्स दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको साहस, समर्पण र नेपालको अन्तरराष्ट्रिय पहिचान निर्माणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

Share Now