काठमाडौं, १७ साउन । काभा महिला च्याम्पियन्स लिग भलिबल नेपालमा हुने भएको छ ।
प्रतियोगिता आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १देखि७) सम्म नेपाला आयोजना हुने भएको हो ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभएको छ ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले काभा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णयहरु गरेको छ ।
नेपाल भलिबल संघको २०८३र८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरि त्यसलाई अनुमोदन पनि गरिएको छ ।
यस्तै नेपाल भलिबल संघ स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहका साथ ‘गोल्डेन जुब्ली’ का रूपमा भव्यताका साथ मनाउने निर्णय पनि गरिएको छ।
नेपाल भलिबल संघको आशन्न १३औँ चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज १५ गतेभित्र देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ । यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ७ वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि (संयोजक) हरूको चयन गरिएको छ ।
जसअनुसार कोशी प्रदेशमा मदन खड्का, मधेस प्रदेशमा मोहम्मद फिरोज, बागमती प्रदेशमा गौतम लासिवा, गण्डकी प्रदेशमा यमबहादुर गुरुङ,लुम्बिनी प्रदेशमा भीम ओली, कर्णाली प्रदेशमा मंगल श्रेष्ठ र श्याम श्रेष्ठ सुदूरपश्चिम प्रदेशमा हर्क सिंह धामीलाई संयोजक तोकिएको अध्यक्ष चन्दले जानकारी दिनुभएकोछ ।
यसैगरी संघको पूर्ण बैठकले क्लब सदस्यतासम्बन्धी विशेष कार्यदल गठन गरेर कार्यविधि बनाएर सदस्य दिने नयाँ व्यवस्था समेत गरेको छ ।
नयाँ क्लबलाई सदस्यता दिनुअघि कार्यदल बनाएर कार्यविधि निर्माण गरिने र त्यसअनुसार मापदण्ड पूरा भएमा मात्र सदस्यता दिने निर्णय संघको पूर्ण बैठकले गरेको छ ।








