Prakash Adhikari August 2, 2026

काठमाडौं, १७ साउन । मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरको द प्लाजा पुल्चोकमा शनिबार आयोजित भव्य ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी हुन्।

यस वर्षको प्रतियोगितामा आर्या निशांत मिस नेपाल इन्टरनेशनल २०२६ तथा कशिश सुब्बा मिस नेपाल कोस्मो २०२६ घोषित भए। विजेताहरूले अब नेपाललाई सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्नेछन्।

ग्राण्ड फिनालेमा नेपाल तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका अनुभवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मिस कोस्मो योलिंडा लिंडक्विस्टसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू निर्णायक (जज) को भूमिकामा सहभागी भएका थिए।

प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो। यस वर्ष मिस नेपालमा संरचनागत परिवर्तन गर्दै तीन प्रमुख अन्तर्राष्ट्रिय उपाधि—मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो—का लागि विजेता छनोट गरिएको आयोजकले जनाएको छ।

मिस नेपाल प्रतियोगिता नेपाली युवतीहरूलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिताका रूपमा परिचित छ। विजेताहरूले आगामी दिनमा विश्वस्तरीय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

Share Now