Prakash Adhikari August 4, 2026

काठमाडौँ, १९ साउन। सुनसरीको देवानगञ्ज घटनाका घाइते २१ वर्षीय रविन्द्र मेहताको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचारका क्रममा निधन भएको छ ।
मृतकका आफन्त, अधिकारकर्मी तथा आन्दोलनकारीहरूले गृहमन्त्री स्वयं उपस्थित नभएसम्म र २४ घण्टाभित्र दोषीलाई पक्राउ नगरेसम्म आईसीयूबाट शव नउठाउने कडा चेतावनी दिएका छन्।

अस्पताल परिसरमा आक्रोशित बनेका आफन्तहरूले राज्यको उदासीनताप्रति कडा आपत्ति जनाउँदै २४ घण्टे अल्टिमेटम दिएका हुन् । गृहमन्त्री अस्पताल आएर निष्पक्ष छानबिन र कानुनी कारबाहीको स्पष्ट प्रतिबद्धता नजनाएसम्म पार्थिव शरीर नबुझ्ने उनीहरूको अडान छ।

गृहमन्त्री र नेताहरूमा अस्पताल 

अस्पतालमा तनाव सिर्जना भएपछि गृहमन्त्री सुधन गुरुड. अस्पताल पुगेर मृतकका आफन्तहरुसंग वार्तामा बस्नुभएको छ ।

यसैबीच, घटनाको गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापा र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो शिक्षण अस्पताल पुगेर मृतकका परिवार तथा आफन्तजनसँग भेटघाट गरेका छन्।

भेटका क्रममा नेताद्वयले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित पक्षका न्यायोचित मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन्।

रविन्द्रको निधनसँगै सुनसरी घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। काठमाडौँको माइतीघरमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव निरन्तर आमरण अनशनमा रहेको र अस्पतालमा समेत तनाव बढेपछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Share Now