काठमाडौं, १९ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार बिहान उहाँहरूबीच सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल भएको हो।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुग्नुभएको थियो।
गोकर्णेश्वरस्थित सैनिक ब्यारेक परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले डोजर लगाएर पर्खाल भत्काउन खोजेको र सैनिक जवानप्रति अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्चालमा सार्वजनिक भएलगत्तै यो भेटवार्ता भएको हो।
गोकर्ण करिडोर विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गामा तैनाथ सैनिक अधिकारीले सुरक्षा संवेदनशीलता र माथिल्लो निकायको पत्र माग गर्दा पनि सांसद पाण्डेले जबर्जस्ती डोजर चलाउन निर्देशन दिएको दृश्य भिडियोमा देखिएको छ।
उक्त घटनाप्रति प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएको बताइएको छ। यस घटनाका सम्बन्धमा सेनाले सम्बन्धित निकायसँग समन्वय गरी थप वस्तुस्थिति बुझ्ने काम भइरहेको जनाएको छ।
ब्यारेकको केही भाग पर्खालमा क्षति पुगेको विषय र कानुनी प्रक्रियाबारे सेनाले आन्तरिक छानबिन र अनुगमन गरिरहेको सैनिक स्रोतले जनाएको छ।
भेटवार्ताका क्रममा पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको साम्प्रदायिक विवाद र शान्ति सुरक्षाको अवस्थाबारे पनि समीक्षा भएको छ।
गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर र उपचारका क्रममा गरी तीन जनाको मृत्यु भएको थियो भने सिरहामा पनि एक जनाको ज्यान गएको थियो।
परिस्थिति सामान्य बनाउन नेपाली सेनासमेत मैदानमा खटिएकाले त्यस क्षेत्रको पछिल्लो सुरक्षा अवस्थाबारे पनि प्रधानमन्त्री र प्रधानसेनापतिबीच संवाद भएको जनाइएको छ।








