काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले तात्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको टिप्पणी गर्नुभएको छ ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन समूहले साउन २९ गते काठमाडौंमा गर्न लागेको राष्ट्रिय भेलाको तयारीका सन्दर्भमा काठमाडौंको क्षेत्रपाटीमा आयोजित जिल्लाका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सर्वोच्च अदालतको पूर्ण इजलाशले यस सम्बन्धमा परेको पुनरावलोकन निवेदन हेर्ने निस्सा दिंदा गरेको आदेशले पनि सो कुराको पुष्टि गरेको बताउनुभयो ।
‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै भन्यो– विशेष महाधिवेशनमा विधि प्रक्रिया पालन भएन । निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्यो भनेर,’ उहाँले भन्नुभयो ।
उहाँले अब कांग्रेस आधिकारिकता सम्बन्धी विवादको निरुपण गर्दा आफ्नो पक्षलाई न्याय मिल्ने दाबी गर्नुभयो ।
उहाँले पार्टी कमजोर हुने भएरै विशेष महाधिवेशन नगरौं भनेको पनि पार्टी कार्यकर्तालाई बताउनुभएको छ ।
‘हामीले विशेष महाधिवेशन नगरौं, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौं,’ नेता सिंहले भन्नुभयो, ‘नियमित महाधिवेशनको समय आइसक्यो, नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ । त्यसले पार्टी बलियो हुन्छ भनेका थियौं ।’
उहाँले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको र अहिले विभाजनको डिलमा पुगेको पनि बताउनुभयो ।








