काठमाडौं, २५ साउन । सोमबार प्रधानमन्त्री बालेन्द्र शाले ले निकट छिमेकी राष्ट्र भारत र चीनका राजदूतसंग भेटेर राजनीतिक स्थिरताको सन्देश दिन खोज्नुभयो । आजै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरुलाई भेटेर आर्थिक स्थिरताको सन्देश प्रवाह गर्न खोज्नुभयो । तर सरकारको स्थायित्वलाई ध्यानमा राखेर गरिएका यी उच्चस्तरीय भेटवार्ताले नेपाली लगानीकर्तालाई कति पनि आश्वास्त गर्न सकेनन् ।
अर्थतन्त्रको ऐना मानिने नेपालको शेयर बजार आज पनि ओरालो लागेर बन्द भयो । सोमबार धितोपत्र बजार परिसूचक ९.०४ अंक घटेर २६४१.०५ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५२ स्टकको १ करोड ९ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन ८२ स्टकको शेयर मूल्य बढेको छ भने १ सय ७९ स्टकको मूल्य घटेको छ । १५ स्टकको मूल्य यथावत रहेको छ ।
यस दिन अधिक मूल्य बढेका कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, दरमखोला हाइड्रो, फस्र्ट माइक्रो फाइनान्स, अपर हेवा,कालिका माइक्रो फाइनान्स, एसवाई प्यानल,सोलु हाइड्रो, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम ३, नेशनल लाइफ समृद्धि योजना र कुमारी बैंक लिमिटेड डिबेञ्चर ८९ रहेका छन्।
यस दिन अधिक शेयर मूल्य घटेका कम्पनीहरुमा रिलायबल समृद्धि योजना २, आत्मनिर्भर लघुवित्त,लक्ष्मी उन्नति कोष,राष्ट्रिय बाणिज्य बैंक डिबेञ्चर ८८, एभरेष्ट कलर ल्याब, एनआईबीएल ग्रोथ फण्ड,भुजुड. हाइड्रो, माया खोला हाइड्रो, आईसीएफसी डिबेञ्चर ८८ र मुक्तिनाथ डिबेञ्चर ८४।८५ रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ कराड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ। यस दिन धेरै मूल्यको शेयर कारोबार हुने अन्य कम्पनीहरुमा सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत, रिलायन्स स्पिनिड. मिल, खानीखोला हाइड्रो, कर्पोरेट विकास बैंक, एसवाई प्यानेल र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई १३ उपसमूहमा वर्गीकरणमा परेका कम्पनीहरु मध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको हो।








