Prakash Adhikari August 11, 2026
काठमाडौँ, २६ साउनः साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा (खोटाङ) लाई प्रदान गरिएको छ ।
दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आज आयोजित एक समारोहका बीच रु एक लाख ५० हजार नगद राशिसहितको उक्त पुरस्कार अधिकारी र सुब्बालाई प्रदान गरिएको हो ।साहित्यकार, पूर्वमन्त्री एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रुपमा प्रदान गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री मानवीले नेपालको साहित्य क्षेत्रको विकासमा दाहालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कुना कन्दरमा रहेका रचनालाई रेडियो नेपालमार्फत आमजनतामाझ पु¥याउन दाहाल यज्ञनिधिको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
पूर्वमन्त्री पोखरेलले शिक्षासँगै साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषा र साहित्यलाई अगाडि बढाउन उहाँले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।
सदनकी अध्यक्ष सुधा दाहालले भारतको मणिपुरमा रहेर शिक्षण पेसासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पु¥याउनुभएका निर्देशक नवीन सुब्बालाई सम्मान गरिएको बताउनुभयो ।
अधिकारीको ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन् । उहाँले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गर्नुभएको छ ।
त्यसैगरी, विसं २०४० को दशकदेखि पत्रकारिता र सिनेमा समीक्षा हुँदै निर्देशनमा प्रवेश गर्नुभएका नवीन सुब्बा नेपाली मौलिक चलचित्र निर्माणका अग्रणी व्यक्तित्व हुनुहुन्छ ।
उहाँले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ तथा ‘गाउँ आएको बाटो’जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरिसक्नुभएको छ । उहाँ हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा हुनुहुन्छ ।
दाहाल यज्ञनिधिका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा रु ५१ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष  विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ ।
दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुने गरेका छन् । हरेक वर्ष कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिन्छ ।
उक्त पुरस्कार यसवर्ष आराध्या सिंह, प्रतिक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपसना बज्राचार्य र सफलबहादुर खड्कालाई प्रदान गरियो ।
सो पुरस्कारको राशि रु २० हजार नगद र प्रमाणपत्र रहेको छ । यस वर्ष कक्षा ८ मा नेपाली विषयमा छ जनाले (फोर जिपिए) प्राप्त गरेकाले सबैलाई प्रदान गरिएको हो । दाहाल यज्ञनिधिले लामो समय अध्यापन गर्नुभएको दरबार स्कुलमा उहाँका नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो ।
विसं २०१० साउन ८ गते खोटाङमा जन्मनुभएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उहाँका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) लगायत जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।
Share Now