Prakash Adhikari August 12, 2026

काठमाडौं, २७ साउन । कुमारी बैंक गत आर्थिक वर्ष २०८२-८३ मा राम्रो नाफा कमाउन सफल भएको छ  । बैंकले सार्वजनिक गरेको गत आबको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७ अर्ब रूपैयाँ नाघेको छ । यो अघिल्लो वर्षको तुलनामा ३०६ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७९-८० देखि लगातार सञ्चित नोक्सानीमा गएको बैंकले  विगत तीन वर्षसम्म लाभांश बाँड्न सकेको थिएन ।तर, गत आबमा बैंकले वित्तिय विवरणमा सुधार गरेको मात्रै नभई अघिल्लो आबमा रहेको करिब ४ अर्ब सञ्चित नोक्सानीबाट लाभांश बाँड्ने अवस्थमा पुगेको छ।खुद ब्याज आम्दानी, फि तथा कमिसन आम्दानीमा बृद्धिको साथै प्रोभिजन राइटब्याकका कारण बैंकले राम्रो कमाई गर्न सकेको हो ।

वित्तीय विवरण अनुसार कुमारीले गत आबमा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आब २०८१-८२ मा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आबमा ३०६ प्रतिशतले नाफा बढेको हो ।

गत आर्थिक बर्षमाम बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आबमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ थियो । त्यस्तै फि तथा कमिसन आम्दानी १४.५५ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको आम्दानीमा भएको वृद्धि र निष्कृय कर्जा केही बढेपनि विगतमा छुट्याइएको सम्भावित कर्जा नोक्सानी व्यवस्थाबाट १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ राइटब्याक भएको छ ।अघिल्लो वर्ष बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजनिङमा खर्च गरेको थियो, जसले नाफामा दबाब परेको थियो ।

आम्दानीमा वृद्धि र प्रोभिजन राइटब्याक भएको बैंकको कर्मचारी खर्च बढेपनि अन्य सञ्चालन खर्च भने घटेको छ । गत आबमा बैंकको कर्मचारी खर्च १३.४८ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड २० लाख ९८ हजार ६८१ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ४ अर्ब ३१ करोड १० लाख ३९ हजार ३७० रुपैयाँ थियो ।

बैंकको अन्य सञ्चालन खर्च १ अर्ब ५ करोड १५ लाख ५४ हजार ७१६ रुपैयाँबाट करिब ४.६४ प्रतिशतले घटेर १ अर्ब २ करोड ७४ लाख ६ हजार ९४३ रुपैयाँ रहेको छ ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सामान्य वृद्घि भएको छ । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा निक्षेप १०.४५ प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह ४.०७ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको अन्त्यमा  ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको कुमारी बैंकले यस वर्ष ७९ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफाआर्जन गर्न सफल भएको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (इपिएस) ६.९४ रुपैयाँबाट उल्लेख्य सुधार भई २८.१७ रुपैयाँ कायम भएको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ रहेको छ।

बैंकको पुँजी कोष अनुपात १२.३१ प्रतिशतबाट सुधार भई १३.५५ प्रतिशत पुगेको छ, जसले बैंक थप कर्जा लगानी गर्न सुरक्षित रहेको देखाउँछ। प्राथमिक पुँजीकोष अनुपात पनि८.५१ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ ।

बैंकको निष्कृय कर्जा ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत पुगेको छ। यद्यपि, निष्कृय कर्जामा प्रोभिजन कभरेज अनुपात१११. ७५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको खुद निष्कृय कर्जा अनुपात १.९४ प्रतिशत छ ।

गत आबमा मात्रै ४ अर्ब ६४ करोड १२ लाख रूपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको भएपनि अघिल्लो आबको ३ अर्ब ८४ करोड ९५ लाख सञ्चित नोक्सानी समायोजन गर्दा ७९ करोड १७ लाख रूपैयाँ वितरणयोग्य नाफा रहन गएको छ । जसले ३.०२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखाउछ ।

बैंकले ब्याज नउठ्दा ३६ अर्ब ४२ करोड नियामकिय जगेडा कोषमा छुट्टयाएको छ । तर, गैर बैंकिङ सम्पत्ती बिक्री गर्दा करिब १४ करोड नियामकिय जगेडाबाट फिर्ता गरेको छ। बैंकको आधार दर ५.०८ प्रतिशत छ । त्यस्तै स्रेड दर ३.५९ प्रतिशतबाट ३.११ प्रतिशतमा झरेको छ ।

Share Now