Prakash Adhikari August 12, 2026

काठमाडौं, २७ साउन । जापानको आइची–नागोया शहरमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको अन्तिम १२ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको छ। उनीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
नेपाली टोलीका १२ खेलाडीहरुमा निरुता ठगुन्ना,उषा भण्डारी,सलिना श्रेष्ठ,सुमित्रा रेग्मी, मिना सुनार, सलिना बूढा,आरती सुवेदी,प्रगति नाथ,लक्ष्मी चन्द,सुनिता खत्री, बसन्ती साउद र रिमा कुँवर छन् ।

जापानमा हुने एसियाली खेलकुदमा नेपालले ग्रुप ‘ए’ मा आयोजक जापान र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

हाल सार्वजनिक भएको अन्तिम १२ सदस्यीय टोलीमा ७ जना स्पाइकर रहेका छन् । जसमा निरुता ठगुन्ना, उषा भण्डारी,सलिना बूढा मगर,मिना सुनार,आरती सुवेदी,लक्ष्मी चन्द र रिमा कुँवर छन् ।

विशेषगरी रिमा कुँवर देब्रेहाते स्पाइकर भए पनि उनले यसपटक सेटरको भूमिकाका लागि समेत तयारी गरिरहेको भन्ने चर्चा छ।

यदि रिमा कुँवरले सेटरको भूमिकासमेत सम्हाल्ने अवस्था बनेमा, नेपाली टोलीको ट्याक्टिकल विकल्प र कोर्टमा खेलाडी व्यवस्थापन थप रोचक बन्न सक्छ । स्पाइकरका रूपमा परिचित रिमा सेटरको भूमिकामा देखिनु नेपाली महिला भलिबलका लागि नयाँ प्रयोग हुन सक्छ।

नेपाल राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले भने आगामी २०औँ एसियाली खेलकुदका लागि सार्वजनिक गरिएको १२ सदस्यीय खेलाडी सूचीलाई अन्तिम नभन्न आग्रह गर्नुभएको छ।

प्रशिक्षक भट्टका अनुसार एसियाली खेलकुद सुरु हुन अझै एक महिनाभन्दा बढी समय बाँकी रहेकाले यस अवधिमा खेलाडीको प्रदर्शन, फिटनेस, चोटपटक तथा अन्य परिस्थितिका आधारमा टोलीमा एकाध खेलाडीहरु परिवर्तन हुनसक्ने संभावना हुन्छ।

उहाँका अनुसार एसियाली खेलकुदका लागि २५ खेलाडीको लामो सूची सम्बन्धित निकायमा पठाइएको छ। प्रशिक्षणमा रहेका खेलाडीको अवस्था निरन्तर मूल्यांकन गरिने बताउँदै भट्टले हाल टोलीबाहिर रहेका खेलाडीलाई समेत शारीरिक, मानसिक तथा प्राविधिक तयारी निरन्तर राख्न निर्देशन दिइएको बताउनुभयो।

कुनै खेलाडी मेडिकल रूपमा फिट नभए वा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेमा उसको स्थानमा अर्को खेलाडीलाई समावेश गर्न सकिनेछ।अन्तिम टोली प्रदर्शनका आधारमा निर्धारण हुनेछ।

नेपालले लगातार दोस्रोपटक एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागिता जनाउँदैछ। २०औँ एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ।

Share Now