Prakash Adhikari August 16, 2026

काठमाडौं, ३१ साउन। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुको आयोजनामा भएको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

राष्ट्रिय सम्मेलनले पाँच बुँदे प्रस्ताव पारित गरेको छ। पार्टीको चौधौं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र सहभागितामा सम्पन्न सम्मेलनले पार्टीको १५औं महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्तावहरू पारित गरेको छ।

भेलाले पार्टीको १५औं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने, १५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजकले संयोजन गर्दै जाने प्रस्ताव पारित गरेको छ। यो सम्मेलनको आयोजक समितिको संयोजकको जिम्मेवारी डा शशांक कोइरालाले वहन गर्नुभएको थियो ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरहरुले पार्टी सभापति देउवालाई नै मान्दै आएका छन्। केन्द्रीय समितिको स्वीकृति र अनुमति बेगर गत माघमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नेयाँ कार्यसमिति निर्वाचित गरेको थियो । । विशेष महाधिवेशनको वैधानिकतामा निर्वाचन आयोग र सर्वोच्च अदालतले गरेको निर्णयमा चित्त नबुझेपछि नियमित महाधिवेशन पक्षधरहरुले सर्वोच्चमा पुनरावेदनसमेत दिएका छन्। सर्वोच्चले यो विषयमा सुरुदेखि नै सुनुवाई गर्ने भन्दै पुनरावलोकतको निस्सा दिएको छ।

कांग्रेसको सम्मेलनबाट पारित पाँच प्रस्ताव

१) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।

२) २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।

३) नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।

४) वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकास दिइने छ ।

२०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल रहनु हुनेछ ।

Share Now