काठमाडौं, १ भाद्र । वैदेशिक रोजगार व्यवसायी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ ।
सहमतिसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीका अनुसार व्यवसायीले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्नेछन् ।
माग सम्बोधन नभएको भन्दै व्यवसायीले कार्यालय बन्द गरी श्रमिक पठाउने काम रोक्ने घोषणा गरेका थिए ।
व्यवसायीले सेवा शुल्क निर्धारण, विभागबाट भएका कारबाही फिर्ता लगायतका माग अघि सारेका थिए । मन्त्रालय र संघबीच नीतिगत मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गर्ने सहमति भएको छ ।
संघले साउन २२ गतेदेखि १५ बुँदे माग राख्दै आन्दोलन तथा ध्यानाकर्षणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।









