प्रकाश पन्त(बीबीसी)
विरेन्द्रनगर(सुर्खेत), १ भाद्र ।तीन दिनअघि जाजरकोटको रिसाङलगायत भूकम्पबाट प्रभावित विभिन्न ठाउँमा गएका पहिरोको सम्बन्ध केही वर्षअघि गएको भूकम्पसँग भएको भूगर्भशास्त्रीहरूले औँल्याएका छन्।
उनीहरूका अनुसार सन् २०२३ मा भूकम्प गएको ठाउँमा अहिले पहिरो जानु संयोग मात्र नभई दुई प्राकृतिक प्रकोपबीच अन्तरसम्बन्ध रहेको सङ्केत हो।
भूकम्पको कारण जमिन चिरा परेको र धाँजा पनि फाटेको हुनाले ठाँउठाउँमा साना वा ठूला पहिरोहरू जाने उनीहरूको भनाइ छ।
“भूकम्पले हल्लाएको जमिन, धाँजा फाटेको र नदेखिने खालका सानासाना चिरा पनि परेका हुन्छन्। फाटेको धाँजा र चिराबाट जमिनभित्र छिरेको पानीले बग्ने ठाउँ नपाउँदा त्यही पानीले ठेलेर पहिरो जाने गर्छ”, भूगर्भशास्त्री प्राध्यापक डा तारानिधि भट्टराईले भन्नुभयो, “यो भूकम्प र पहिरोबीचको स्थापित सम्बन्ध पनि हो।यदि मुसलधारे पानी परेर वर्षाको भेलजस्तो बगेर गइहाल्यो भने त्यसले ठूलो असर गर्दैन। सिमसिमे पानी लगातार परिरह्यो, परेको जति पानी जमिनभित्रै छिर्दै जाने र भलको रूपमा निस्किन नपाउँदा पहिरो निम्तिन्छ।”
सधैँ पहिरोको जोखिममा
जाजरकोटमा २०८० कात्तिक १७ गते भूकम्पले ठूलो क्षति पुर्याएको थियो। उक्त घटनापछि सरकारले पहिरो जान सक्ने क्षेत्र पहिचान गरेर बस्तीहरू सुरक्षित ठाउँमा सारेको भए अहिले जनधनको क्षति बेहोर्नुपर्ने स्थिति टार्न सकिन्थ्यो भन्ने विज्ञहरूको धारणा छ।
उनीहरू पहिरो जाने जोखिममा रहेका ठाउँमा जुनसुकै बेला पनि पहिरोले विपत्ति निम्त्याउन सक्ने ठान्छन्।
भूगर्भविद् प्रा रञ्जनकुमार दाहाल भने जाजरकोट भूकम्पपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोको जोखिममा रहेका बस्तीहरूको पहिचान गरे पनि ती बस्तीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कुरा कार्यान्वयनमा आउन नसकेको बताउनुहुन्छ।
“भूकम्पपछि अस्थायी टहरा र स्थायी घरहरू बनाउने कुरालाई मात्र प्राथमिकता दिने गरियो। पहिरोको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँमा सार्ने कुरामा ध्यानै दिइएन। त्यसैले अहिले यस्ता समस्याहरू आउन थाले”, उहाँले भन्नुभयो।
पहिरो जाने सङ्केत
भूगर्भविद्हरूले खास गरी तीनवटा कुरामा ध्यान दिए पहिरोको जोखिमबाट बच्न सकिने बताउनुभएको छ।
घर तथा बस्ती छेउछाउमा पानी रसाउन थाल्यो भने अनि मुहानबाट एक्कासि धमिलो पानी र लेदो आउन थाल्यो भने पहिरो जान सक्ने डर हुन्छ।
त्यसबाहेक रूखहरू बाङ्गा देखिन र कोल्टे पर्न थाले भने पनि त्यसलाई पहिरो जाने सङ्केत मानेर ढिला नगरी सुरक्षित ठाउँमा जानुपर्ने उहाँहरूको सुझाव छ।
पहिरोबाट विस्थापित गाउँलेहरूको अवस्था
तीन दिनअघि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ गाउँमा आएको पहिरोबाट विस्थापित भएकाहरूलाई अहिले त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा राखिएको छ।
त्यहाँ १ सय २८ घरका ३ सय ४८ जनालाई उद्धार गरेर सुरक्षित रूपमा राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभएको छ ।
पहिरोमा परी रिसाङमा चार जनाको ज्यान जानुका साथै छ जना घाइते भएका थिए।
सरकारले पहिरोबाट विस्थापित भएर सुरक्षित स्थानमा राखिएकाहरूलाई आवश्यक आधारभूत कुराहरूको व्यवस्था गरिएको बताएको छ।
कर्णाली प्रदेश सरकारले खाद्यान्न, पाल, टेन्ट, लत्ताकपडाको व्यवस्था गरेको जनाएको छ भने भेरी नगरपालिकासहित विभिन्न पक्षले खाने र बस्ने व्यवस्था मिलाएका छन्।
तर सुरक्षित ठाउँमा राखिएकाहरू भने अस्थायी शेल्टरमा लत्ताकपडा र खानेपानीको अभाव रहेको गुनासो गर्छन्।
अस्थायी शेल्टरमा बसेकी गीता शाही एउटै टेन्टमा ३०-३५ जना सुत्ने गरेको र गर्भवती, सुत्केरी महिला, बालबालिका र बूढाबूढीहरूलाई बढी समस्या भएको बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “घरको तलमाथिबाटै पहिरो आएको छ। घर जान सक्ने अवस्था छैन। कति दिन अस्थायी शेल्टरमा बस्नुपर्ने हो थाहा छैन। पहिला भूकम्पबाट, अहिले पहिरोबाट पीडित हामीलाई बरु सरकारले चाँडै सुरक्षित ठाउँमा बस्ने व्यवस्था गरिदिएको भए हुन्थ्यो।”
चार दिनअघि जाजरकोटको नलगाड नगरपालिकामा पर्ने तासुगाडमा आएको बाढीबाट पीडित भएका पृथ्वीबहादुर विक पनि सरकारसँग बस्ने बासको व्यवस्था गरिदिन माग गर्नुहुन्छ।
उहाँ भन्नुहुन्छ, “वर्षौँसम्म दुःख गरी बनाएको बस्ने घर बाढीले लगिदियो। अब फेरि अर्को घर बनाउन सक्ने आर्थिक हैसियत छैन। त्यसैले सरकारले बस्ने घर मात्र बनाइदिएको भए काम गरी जहान परिवार पाल्ने थिएँ।”
तासुगाडमा आएको बाढीले जाजरकोट-डोल्पा सडकमा क्षति पुर्याउनुका साथै एउटा झोलुङ्गे पुल र पाँचवटा घरहरू बगाएको छ।
बाढीपीडितहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
झोलुङ्गे पुल बगाएपछि स्थानीय युवाहरूले बनाएको तुइनबाट मानिसहरूले तासुगाड वारपार गरिरहेका छन्।








