Prakash Adhikari August 18, 2026
  • अशोक दाहाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, २ भाद्र । सरकार आफैँले वितरण गर्दा पनि खाना पकाउने ग्यास नपुगेपछि शनिवार मुसलधारे वर्षामा लाम लागेका कैयौँ नागरिक रित्तै सिलिन्डर लिएर फर्कन बाध्य भए।

सरकारले शनिवार र आइतवार आफैँ अघि सरेर वितरण गर्दा पनि लाइन बसेका नागरिकलाई ग्यास पुर्‍याउन नसकेको विवरणसँगै सोमवारबाट नियमित बिक्री केन्द्रहरूबाटै ग्यास वितरण हुन थाल्यो।

ग्यास पसलहरूमा रित्तो सिलिन्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै ५७ हजार ३३५ मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार साउन महिनामा नेपाल भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो।

साउन महिनामा आयात भएको ५ करोड ७३ लाख किलोग्राम ग्यासले १४.२ किलोग्रामका ४० लाख सिलिन्डर भर्न पुग्छ।

ग्यास उद्योगीहरूको संस्था ग्यास उद्योग महासङ्घका अनुसार नेपालमा अहिले करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरहरू प्रयोगमा छन्।

साउनमा भित्रिएको ग्यासले नेपालमा प्रयोगमा रहेका करिब एकचौथाइ सिलिन्डर भर्न पुग्छ। नेपालमा भएका सबै सिलिन्डर एकै पटक भर्न २५ करोड किलोग्राम ग्यास चाहिने जानकारहरू बताउँछन्।

एकतिहाइभन्दा बढी ग्यास उपभोक्ता कहाँ

साउनअघि पनि निरन्तर ग्यास भित्रिइरहेका कारण नेपालमा भित्रिएको ग्यास घर, रेस्टुराँ, होटेल तथा कार्यालयमा भण्डार गरिएको आशङ्का आयल निगम र उद्योगीको छ।

ग्यास उद्योग सङ्घका भूतपूर्व अध्यक्ष शिवप्रसाद घिमिरे सामान्य अवस्थामा उपभोक्ताकहाँ एकतिहाइ र बाँकी दुई तिहाइ ग्यास उद्योग, विक्रेता र ढुवानीका क्रममा रहने बताउनुहुन्छ।

“सिलिन्डर तीन ठाउँमा हुन्छ। उद्योगसँग हुन्छ र ढुवानीका क्रममा गाडीहरूमा हुन्छ, विक्रेतासँग हुन्छ अनि उपभोक्तासँग हुन्छ। आधिकारिक तथ्याङ्क बताउन सक्ने अवस्था छैन। तर सामान्य अवस्थामा ३३ प्रतिशत उपभोक्ताको घरमा, अर्को ३३ प्रतिशत विक्रेताकहाँ र ढुवानीका क्रममा अनि बाँकी ३३ प्रतिशत उद्योगमा हुनुपर्छ भन्ने हो”, घिमिरे भन्नुहुन्छ ।

त्यसमध्ये भरिएका र प्रयोगमा रहेकासमेतको औसत आधारमा कम्तीमा एकतिहाइ ग्यास सिलिन्डर भरिने ग्यास सामान्य अवस्थामा नेपालमा रहने गरेको उद्योगीहरू बताउँछन्।

अहिले ३३ प्रतिशतभन्दा पनि बढी ग्यास भरिएर रहेको हुन सक्ने आफूहरूको आकलन रहेको ग्यास उद्योगी घिमिरे बताउनुहुन्छ।

“अहिले एकतिहाइभन्दा बढी उपभोक्ताकहाँ छ भन्ने तथ्याङ्कले नै बताउँछ”, घिमिरे भन्नुहुन्छ ,” आयात र विक्रीवितरणको विवरण हेर्दा ४० देखि ४५ प्रतिशत भरिएको हुनुपर्छ भन्ने अनुमान हो। तर कसैको घरमा चुलै निभेको होला, उहाँलाई त मर्का पर्‍यो नि त।”

अहिले उद्योग र विक्रेताकहाँ ग्यासको भण्डारण नै नरहेको उहाँको भनाइ छ। उहाँका अनुसार उद्योगमा आएका सिलिन्डरहरूमा एकै दिनमा र ढिलोमा पनि अर्को दिनसम्म ग्यास भरेर बजारमा पठाउने गरिएको छ। विक्रेताले पनि केही घण्टाभित्रै ग्यास बेचिसक्ने अवस्था रहेको घिमिरेले बताउनुभयो।

“अहिले साँच्चिकै अभाव, जसकोमा एउटा मात्रै सिलिन्डर छ र चुलो निभेपछि मात्रै लिएर आउनेहरूलाई छ। उहाँहरूको समस्याले गर्दा लाइन बन्यो”, घिमिरे भन्नुहुन्छ, “तर जसकोमा पाँच वटा सिलिन्डर थियो, उहाँहरूले पनि पाँचै वटा भर्न थाल्नुभयो।”

नेपाल आयल निगमका प्रबन्ध निर्देशक साह हुनेखानेले ‘छ महिनासम्म पुग्ने ग्यासको भण्डारण गरेको’ र त्यसको असर एउटा मात्रै सिलिन्डर प्रयोग गरिरहेका उपभोक्तालाई परेको ठान्नुहुन्छ।

“दुई वटा, तीन वटा, चार वटा भरिदिएर हो, नभए त हाम्रोमा बजारको औसत विक्री ३२ लाख सिलिन्डर हो। अहिले आठ लाख सिलिन्डर बढी पठाउँदा पूरै सामान्य हुनुपर्थ्यो भन्ने हाम्रो बुझाइ छ”, साह भन्नुहुन्छ।

घरमा धेरै ग्यासको भण्डारण गर्दा जोखिम हुने तर्फ सचेत गराउँदै निगमले विद्युतीय चुलोको प्रयोग बढाएर ग्यासको खपत घटाउन सुझाव दिएको छ।

“यहाँहरूले बढीभन्दा बढी सञ्चय नगर्दिनूस्। सुरक्षाको दृष्टिकोणले पनि र कोहीकोही साथीको एउटा मात्रै सिलिन्डरका कारण अहिले तत्काल नपाइरहेको अवस्थामा असल उपभोक्ताको व्यवहार देखाऊँ”, साह भन्नुहुन्छ।

कतिपय आगजनीका घटनामा ग्यास सिलिन्डरले थप क्षति पुर्‍याउने गरेको भन्दै निगमले भविष्यमा अभाव हुने चिन्ता लिएर भण्डारण नगर्न भनेको छ।

३६ हजार मेट्रिक टन कम आउँदाको चाप

भन्सार विभागको तथ्याङ्कअनुसार चैतयताका चार महिना नेपालमा औसत मागभन्दा कम ग्यास आपूर्ति भएको देखिन्छ।

विभागका अनुसार फागुनमा ५१ हजार १ सय ९२ मेट्रिक टन ग्यास आपूर्ति भएको थियो।

यो परिमाणको ग्यासले ३५ लाख सिलिन्डर भर्न पुग्थ्यो। तर फागुन २९ गतेबाट आधा सिलिन्डर ग्यास दिन सुरु गरिएसँगै भारतबाट आयात हुने ग्यासको परिमाण पनि निकै कम भयो।

चैत महिनायता कति ग्यास नेपाल भित्रियो। नेपालमा प्रत्येक महिना औसत ४७ हजार मेट्रिक टन ग्यासको माग छ।

भन्सार विभागका अनुसार वैशाखमा ३२ हजार मेट्रिक टन मात्रै ग्यास आयात भयो। अर्थात् वैशाखमा आएको ग्यासले भरी सिलिन्डर ग्यास भर्दा २२ लाख सिलिन्डर मात्रै भरिए।

सरकारले आधा सिलिन्डर ग्यास दिएका कारण त्यो महिना आएको ग्यासले ४४ लाख सिलिन्डर भर्न पुग्यो। जेठमा पनि वैशाखको भन्दा ८ सय मेट्रिक टन मात्रै बढी ग्यास भित्रियो।

आधा सिलिन्डर मात्र ग्यास लामो समय विक्री गरिँदा मानिसहरूले ग्यास नै नभरेका कारण भारतबाट आयात घटाउन बाध्य भएको उद्योगी घिमिरे बताउँनुहुन्छ।

“ग्यास भरेर आएका गाडी खाली गर्न नसकेर हरेक सीमामा एक डेढ सय बुलेटहरू बसिरहेको अवस्था बन्यो। उद्योगमा राख्ने ठाउँ नहुने, उपभोक्ताले नकिन्ने भयो”, उहाँले भन्नुभयो।

नेपालका ५८ वटा ग्यास उद्योगहरूसँग देशको करिब पाँच दिनको माग धान्ने ११ हजार मेट्रिक टन ग्यास भण्डारण गर्न सक्ने क्षमता छ।

आधा सिलिन्डर बिक्री सुरु गरेपछिको चार महिनामा नेपालमा मागभन्दा ३५ हजार मेट्रिक टन ग्यास कम आएको निगमको तथ्याङ्कले देखाउँछ।

विभागको तथ्याङ्कअनुसार असारमा पनि ४४ हजार मेट्रिक टन अर्थात् औसत मागभन्दा तीन हजार मेट्रिक टन कम ग्यास आपूर्ति भएको छ।

चैतबाट कम भएको ग्यास आयात साउनमा मात्रै नेपालको औसत मागभन्दा बढी आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ। असार अन्तिमबाट भरिएका सिलिन्डरमा ग्यास वितरण सुरु गरिएसँगै देखिएको अभाव आगामी साताबाटै सहज हुने निगमका प्रबन्ध निर्देशक साह बताउनुहुन्छ।

“तथ्याङ्कअनुसार अब पुग्ने ग्यास आइरहेको छ। त्यसमा केही बढी र कोही कम राख्दा देखिएको असन्तुलन पनि अब मिल्दै जान्छ”, निगमका प्रबन्ध निर्देशक साह भन्नुहुन्छ ।

Share Now