काठमाडौं, २ भाद्र। कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुन लागेको ४२० मेगावाट जडित क्षमताको तिला–२ जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित यस आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी विशेष वित्तीय सम्झौता (एसएफए) सम्पन्न भएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ ।
आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहने अनुमान गरिएको छ । जसमध्ये कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट ऋणका रूपमा जुटाइनेछ । बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ प्रवर्द्धकहरूको स्वपुँजीबाट व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।
एभरेष्ट बैंक मुख्य नेतृत्वकर्ता (लिड बैंक) रहेको यस कन्सोर्टियममा सानिमा बैंकसहित प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकको सहनेतृत्व रहने छ । सहवित्तीयकरणमा ऋण लगानी गर्ने अन्य बैंकहरूमा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
तिला–२ जलविद्युत आयोजना अर्धजलाशययुक्त प्रकृतिको हुनेछ । यस आयोजनाको बाँध कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा निर्माण गरिनेछ भने खाँडाचक्र नगरपालिकामा विद्युत गृह रहनेछ । आयोजनाले दैनिक ६ घण्टासम्म पिकिङ क्षमतामा विद्युत उत्पादन गर्न सक्नेछ ।
आयोजनाबाट वार्षिक कुल २३१८.७९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । जसमध्ये सुख्खायाममा पिक समयमा ४५१.०५ गिगावाट आवर र अफपिक समयमा २०५.४५ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । वर्षायाममा भने १६६२.२९ गिगावाट आवर विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आयोजनाले २०७५ भदौ ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणसँग २०८१ कात्तिक ७ गते २९६.७४ मेगावाट क्षमताका लागि विद्युत खरिदबिक्री सम्झौता समेत सम्पन्न भइसकेको छ । निर्माण सुरु भएको ४ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याएको छ । आयोजनाका मुख्य प्रबर्द्धकहरूमा स्ट्रिम इन्भेष्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रबिन्स यूएसए लगायतका विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरू रहेका छन् ।








