काठमाडौं, ६ भाद्र। नेपाली कांग्रेसको देउवा पक्षका नेता डा. शशांक कोइरलाले गगन थापा नेतृत्वको कार्य समितिले असोजका लागि निर्धारण गरेको पार्टी महाधिवेशनमा सहभागी नहुन सबै तहका समिति, पदाधिकारी र सदस्यहरु तथा क्रियाशील सदस्यहरुलाई आग्रह गर्नुभएको छ।
गत साउन २९ देखि ३१ सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुको राष्ट्रिय भेलाले डा. शशांक कोइरालाको नेतृत्वमा १५ औं महाधिवेशन तयारी समिति गठन गरेको थियो ।
समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतबाट पार्टीको विशेष महाधिवेशन सम्बन्धी विवादको अन्तिम निरुपण नभईकन हुने महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्नरनगराउन र त्यसता कार्यक्रममा सहभागी नहुन पार्टीका सबै तहका कार्यकर्ता र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आग्रह गर्नुभएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित बनेको गगन थापा नेतृत्वको कांग्रेसको केन्द्रीय कार्य समितिले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।
डा.कोइरालाद्धारा जारी विज्ञप्तिमा पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट पुनरावलोकन निस्सा पाएको र मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनको तालिका आएकोमा ध्यानाकर्षण भएको जनाइएको छ।









