ललितपुर, ६ कात्तिक : ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।
ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त नाच हरेक १२ दिनसम्म साँझ ७ बजेदेखि नियमित रुपमा सञ्चालन हुनेछ ।
“यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, प्रत्येक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ, यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ, सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच चलाएको जनविश्वास छ”, उहाँले भन्नुभयो ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।
“यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्यायाए भनिन्छ । अहिले यसको विशेषता बुझेको कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० देखि १२ दिनसम्म मात्रै सीमित गरिएको छ”, उहाँले भन्नुभयो ।
यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक संजय शर्मा राजोपाध्यायले बताउनुभयो । “कार्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ”, उहाँले भन्नुभयो ।
मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको हो । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ ।
“सत्ताइस दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ, तर हाल यस नाचलाई दस देखि बाह्र दिनमा खुम्च्याइएको छ । विसं २००७ को जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । विसं २००८ देखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो”, राजोपाध्यायले भन्नुभयो ।
कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६० सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउनुहुन्छ । “विसं २०७० मा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । विसं २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष १२ दिन देखाइदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ”, उहाँले भन्नुभयो ।
लामो समय नाच देखाउन आर्थिक अभाव हुने कलाकार राजोपाध्यायको भनाइ छ । कलाकारहरुले व्यावसायिक रुपले यस क्षेत्रमा समय दिन नसकेका कारण कार्तिक नाच देखाउन पनि समस्या भएको उहाँको भनाइ छ ।
“कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अवस्था छ, कलाकारहरु विदेश पलायन हुँदै जाने समस्याका साथै नयाँ पुस्तामा भाषागत समस्या बढ्दै गइरहेको छ भने अर्कोतर्फ सरकारी पक्षबाट समेत यसका लागि पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन”, उहाँ भन्नुहुन्छ ।
नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रुपमा रु दस करोडको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रुपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रुपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको छ ।







