Prakash Adhikari August 24, 2026

ललितपुर, ७ भाद्र। नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि नेपालको पुँजी बजारले अपेक्षाअनुसार गति लिन नसकेको बताउनुभएको छ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजी बजारः आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजी बजार राम्रोसँग अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको बताउनुभएको हो।

उहाँले पुँजी बजार अपेक्षा अनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्दै तत्काल सुधार गर्न सकिने विषयमा बहस गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले संसदमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसका सांसदहरूले पुँजी बजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउन पनि आग्रह गर्नुभयो ।

थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिन तथा आगामी दिनमा यस विषयमा व्यापक दृष्टिकोण बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पुँजी बजारको सन्दर्भमा अहिलेको चुनावपछि सबैभन्दा राम्रोसँग जाला भनेर अनुमान गरिएको थियो। सबैमा अत्यन्तै उत्साह र अपेक्षा पनि थियो। तर दुर्भाग्यवश हाम्रो पुँजी बजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन।’

उहाँका अनुसार पुँजी बजारमा देखिएका समस्या, त्यसका कारण र तत्काल सुधार गर्न सकिने विषयमा छलफल गर्दै कांग्रेसले संसदमा आफ्नो भूमिका प्रभावकारी बनाउन खोजेको हो।

‘हामी अहिले राज्यको प्रतिपक्षको जिम्मेवारीमा छौँ। संसदमा हाम्रा केही जिम्मेवारी छन्। ती विषयलाई कसरी उठाउन सक्छौँ भन्नेमा छलफल गरौँ भन्ने उद्देश्य हो,’ थापाले भन्नुभयो।

उहाँले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजी बजारसम्बन्धी विषयमा सूचित र शिक्षित बनाउँदै भविष्यमा यसबारे स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्नुपर्नेमा समेत जोड दिनुभयो।

Share Now