काठमाडौँ, १० भदौः चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रम जोखिम बढेको बताएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले “बाढी मुङ्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । विशेषगरी पृथ्वी राजमार्गलगायत नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न आवश्यक छ,” भन्नुभयो ।
यसैबीच, धादिङ जिल्ला प्रशासन कार्यालयले पनि रसुवा जिल्ला प्रशासन कार्यालयबाट बाढीको पूर्वसूचनासहित सतर्कता अपनाउन आह्वान भएको जनाउँदै सम्बद्ध सबैलाई सचेत रहन आग्रह गरिएको छ ।
बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएका टोली सम्पर्कविहीन
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्युटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्युटीमा खटिइएको टोलीसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो ।
प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित
रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ ।
बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ । बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ । यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ ।








