Prakash Adhikari September 4, 2026

विदूर(नुवाकोट), १९ भाद्र ।भोटेकोशीको प्रलयकारी बाढी आएको १० औं दिन त्रिशुलीको बाढीको थिग्रानले पुरिएको त्रिशुली थ्री ए को सुरुड.भित्र फसेका मध्ये सञ्जय साहको जीवितै उद्धार भएको छ ।

सो आयोजनाको उद्धार कार्यमा खटिइरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् इञ्जिनियर श्रीराम न्यौपानेले दिनुभएको जानकारी अनुसार अर्का एक जना पनि जीवितै भेटिनुभएको छ । यसले सो आयोजनाको सुरुड. र पावर हाउसमा फसेकाहरु जीवितै भेटिने आशा पलाएको छ ।

त्रिशुली ३ ए को आशा लाग्दो उद्धारले अन्य आयोजनामा फसेकाहरुको पनि जीवितै उद्धार हुन सक्ने संभावना र आशा जाग्दो छ ।

यस अगाडित्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ठानिएका मानिसहरूबाट आवाज आएको जानकारी प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बीबीसी न्यून नेपालीलाई जानकारी दिनुभएको छ।

“यहाँ खोजी तथा उद्धारको नेतृत्व गर्नुभएको सेनाका कर्नेल गङ्गा बरालले हामीलाई भित्रबाट आवाज आएको जानकारी दिनुभएको हो,” राउतले भन्नुभयो,“सेनाको कर्नेल गङ्गा बराल सरले हामीले यताबाट आवाज दियौँ, भाइहरू हामी उद्धार टोली हो, आउँदैछौँ है ! भनेपछि उताबाट हुन्छ, हुन्छ भनेर खबर आयो।”

उहाँले अबको दुई तीन घण्टामा त्यहाँ पुगेर उद्धार गरिसक्ने आफ्नो अपेक्षा भएको जानकारी दिनुभएको छ।

सुरुङ भएको स्थानमा गृहमन्त्री सुधन गुरुङ पनि हेलिकोप्टरमा पुग्नुभएको छ।

सुरुङमा उद्धारका लागि गरिएका दुईवटा योजना ुप्लान ए र प्लान बीु जारी राख्न उहाँले निर्देशन दिएको राउतले बताउनुभयो।

यसबारे बीबीसीले सोद्धा नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसबारे आधिकारिक तरिकाले नै जानकारी दिइने बताउनुभएको छ।

तर अहिलेसम्म सेना झन्डै १०० मिटरभित्र प्रवेश गरिसकेको उहाँले बताउनुभयो।

सांसद न्यौपाने पनि आशावादी

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको खोजी गर्ने क्रममा ‘भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको’ त्यहाँको उद्धारमा विज्ञका रूपमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

“उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ”, उहाँले फेसबुकमा एउटा सङ्क्षिप्त पोस्ट गर्दै जानकारी दिनुभएको छ ।

यसअघि उहाँले उक्त जानकारी उद्धारमा खटेको सेनाबाट प्राप्त भएको लेख्नुभएको थियो ।

यद्यपि नेपाली सेना र नेपाल प्रहरीले त्यसबारे औपचारिक जानकारी दिएका छैनन्।

सुरक्षास्रोतहरूका अनुसार गृहमन्त्री सुधन गुरुङ त्रिशूली ३ए को आयोजनास्थलमा आज बिहान हेलिकप्टरबाट पुग्नुभएको छ।

आशाजनक सङ्केत

श्रीराम न्यौपानेले आज बिहान गरेको अर्को पोस्टमा लेख्नुभएको छ, “नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक सङ्केत हो।”

“हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत् काठमाडौं फर्कने तयारीमा छु।”

 

Share Now