Prakash Adhikari October 24, 2026
ललितपुर, ७ कात्तिकः ललितपुरको ऐतिहासिक पाटन दरबारको मूल चोकमा जीवित देवी यल कुमारीबाट सर्वसाधारणलाई टीका र जमारा प्रदान गरिएको छ ।
बडादसैँको टीकाको चौथो दिन आज त्रयोदशीका दिन जीवित देवी कुमारीको हातबाट टीका र जमारा ग्रहण गरेसँगै पाटनको नेवारी समुदायमा औँपचारिक रूपमा दसैँको टीका विसर्जन भएको छ ।
नेवारी समुदायमा बडादसैँको विजयादशमीका दिनसमेत जीवित देवी यल कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ ।
पाटनकी जीवित देवी कुमारीलाई तलेजु भवानीको प्रतीकका रूपमा श्रद्धा गरिन्छ ।
परम्पराअनुसार विजयादशमीका दिन सुरुमा कुमारी घरका मूल पुजारी, गुभाजु तथा स्थानीय नाइकेले कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्ने गर्छन् । त्यसपछि सर्वसाधारण भक्तजनका लागि टीका ग्रहण गर्ने अवसर खुला गरिने परम्परा रहेको छ ।
कुमारीको हातबाट टीका र जमरा ग्रहण गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुने तथा अनिष्टबाट रक्षा हुने धार्मिक जनविश्वास छ ।
पाटनको यल कुमारीसँग जोडिएको यो परम्पराले उपत्यकाको मौलिक नेवार संस्कृति, धार्मिक आस्था र ऐतिहासिक सम्पदाको महत्त्वलाई उजागर गर्छ । पुस्तौँदेखि चलिआएको यस्तो परम्पराले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्‍याउँदै आएको छ ।
मल्लकालीन समयदेखि चल्दै आएको यो परम्परा पाटनको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पहिचानमध्ये एक हो । बडादसैँको महानवमी र विजयादशमीका दिन तलेजु भवानीको विशेष पूजा र शक्ति आर्जनको विधि सकिएपछि त्रयोदशीको दिन कुमारी देवगृहबाट बाहिर निस्केर आमनागरिकलाई आशिर्वाद दिने परम्परा रहेको छ ।
ललितपुरको सांस्कृतिक गरिमालाई झल्काउने कुमारीको दर्शन पाउन र टीका थाप्न साँझ पाटन दरबार क्षेत्रमा दर्शनार्थीहरूको लामो लाम लागेको थियो ।
Share Now