Prakash Adhikari September 4, 2026
कञ्चनपुर, १९ भदौः सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ मनाइँदै छ ।
अठ्यावलीअर्थात् अष्ठमीको दिन गौरा पर्वको मुख्य दिन हो । आजका दिन गौरा हुने स्थानमा गौरा महेश्वर स्थापना गरिसकेपछि बर्तालु महिलाले अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजाअर्चना गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का बर्तालु रतनादेवी भट्टले बताउनुभयो ।
उहाँका अनुसार अठ्यावालीमा गौराको जन्मदेखि विवाह पछिसम्मका कथाहरु आउने र यसमा गौरीको जीवनका विभिन्न घटनाहरुको वर्णन गरिन्छ । “यो पर्व परम्परादेखि नै चलिआएको पर्व हो,  व्रत बसेर गौरा महेश्वरको पूजा गर्छौं”, उहाँले भन्नुभयो, “पूजा सकिएको बिरुडाले परिवारका सदस्यको टाउँको पूजन गरेर आशिर्वाद दिन्छाँै ।” आजकै दिन बर्तालु महिलाहरुले दुबधागो धारण समेत गर्ने उहाँले बताउनुभयो ।
दुबो धागो भनेको महिलाको यज्ञोपवित हो । यो सुतीको रातो धागोमा पहेँलो र कालोपारी पारेर सुन्दर बनाइएको हुन्छ । दुबो धागोमा दुई पाला हुने गर्दछन ।
यसमा रहेका रातो, पहेलो र कालो रङलाई क्रमशः महालक्ष्मी, महासरस्वती र महाकालीको प्रतीकका रुपमा मान्ने गरिएको छ ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजाअर्चना गरिँदै आएको बर्तालु कौशिला भट्टले बताउनुभयो ।
“पुत्रदा एकादशीको व्रत बसेपछि मात्र गौराको व्रत मिल्छ त्यसपछि भाद्र पञ्चमीका दिनदेखी बिरुडा भिजाएर विधिवत् रुपमा गौरा सुरु हुन्छ ।” उहाँले भन्नुभयो–“पञ्चमीको दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ ।” उक्त बिरुडा भिजाउने बेला महिलाले माङ्गलिक फाग गाउने गरेको उहाँको भनाई छ ।
षष्टिका दिन न्वाला वा धारामा गइ बिरुडा धुने परम्परा छ । सप्तमी तिथिका दिन गौरा देवीलाई गौरा घरमा भित्र्याएर विशेष प्रकारले पूजाअर्चना गरिन्छ । उहाँका अनुसार शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ ।
गौरा विशेष गरेर यस क्षेत्रका नारीहरुले उपासना गर्ने पर्व हो । विवाहित नारीहरुले आफ्नो कुलपरम्परा अनुसार पुरुषहरुजस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको जैमति भट्टले बताउनुभयो ।
अठ्यावालीपछिका दुई÷तीन दिन लगातार रुपमा स्थानीय देवीदेवताका मन्दिरहरुमा महिलाहरुले देउडा खेल र पुरुषहरुले ढोलक र मिजुराका साथ ढुस्को, धमारी, चैत तथा डेउडा खेल खेल्ने गरिन्छ ।
विशेष गरी रामायण तथा महाभारतकालीन कथावस्तुमा आधारित ढुष्को धमारी चैत तथा स्थानीय देवीदेवता तथा इतिहास प्रसिद्ध कथानक बोकेका गाथाहरु समूहमा खेलिन्छ ।
गौराको पूजाअर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास रहिआएको छ ।
नारीलाई विशेष सम्मानका साथ मनाइने यो पर्व धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो, गौरा ।
Share Now