Prakash Adhikari September 5, 2026

काठमाडौँ, २० भाद्र। रसुवागढी र त्रिशूली नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोको एघारौँ दिन नुवाकोटमा पुरिएको घरको भग्नावशेषबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।

विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा पुरिएको घरबाट चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरीसहितको उद्धार टोलीले जीवितै उद्धार गरेको हो । एघार दिनपछि भग्नावशेषबाट महिलाको जीवितै उद्धार भएपछि घटनास्थलमा उद्धारकर्मी तथा स्थानीयमा खुसी छाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्मबाट प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको नौ सदस्यीय टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गर्ने क्रममा श्रेष्ठलाई फेला पारेको थियो । उद्धारपछि उहाँलाई सकुशल बाहिर निकालेर आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाइएको छ ।

प्रहरी उपरीक्षक पुरन चन्द भट्टका अनुसार विपद्को एघारौँ दिनमा समेत भग्नावशेषभित्रबाट जीवितै उद्धार सम्भव भएको हो । बाढी–पहिरोका कारण बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा श्रेष्ठको जीवित उद्धारले लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा रहेका परिवार तथा उद्धारकर्मीमा नयाँ आशा जगाएको छ ।

Share Now