Prakash Adhikari September 6, 2026

काठमाडौँ, २० भदौः रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३ सय ३१ जनाको शव फेलापरेको छ भने ५ हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये रसुवामा १ सय ५६, नुवाकोटमा १ सय ९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २ सय २२, नवलपरासीपश्चिममा २ सय १९ तथा चितवनमा ३ सय ६० रहेका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब १ हजार ९ सय ६७ जना, नुवाकोटबाट करिब २  हजार ३ सय ४० जना, ५ सय ८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १ सय जना रहेका छन् । बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १ सय १ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार १ सय ६२, नेपाल प्रहरीले ४ हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा ४ हजार ८ सय ७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । यस्तै, हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ५ हजार ९ सय २९ जनाको उपचार गरिएको प्रवक्ता महतले बताउनुभयो ।

विभिन्न अस्पतालमा ३ सय १६ जना, नेपाली सेनाबाट ३ हजार २ सय ९७ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ३ सय १६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा ३ हजार ९ सय ८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाइएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Share Now