- अशोक दाहाल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २३ भाद्र । भोटेकोशी र तल त्रिशूली नदीमा बाढी आएको १३औँ दिन सोमवारसम्म पनि झन्डै पाँच हजार मानिसहरू सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सुरक्षा निकायहरूले चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलपरासी पश्चिमसम्म मानिसहरूको खोजी गरिरहेको बताएका छन्।
रसुवामा भोटेकोशी भनिने त्यही नदी नुवाकोट पुगेपछि त्रिशूली, चितवन देवघाटभन्दा तल्लो भूभागमा नारायणी र भारत प्रवेश गरेपछि गण्डक नदी भनेर चिनिन्छ।
सोमवार साँझ सम्म कम्तीमा १,३५६ जनाको शव वा पार्थिव अवशेष फेला परेको खोज, उद्धार तथा राहतको समन्वय गर्दै आएको उक्त सरकारी निकायले जनाएको छ। शवहरू फेला पर्ने क्रम जारी छ।
नेपाली सेना विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत विद्युत् गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ।
सोमवार १३औँ दिनको खोजीका क्रममा चिलिमे जलविद्युत् आयोजनाको पावरहाउससम्म पुग्ने प्रयास भएको सैन्य प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो।
आयोजनाको सुरुड.१०० मिटर भित्र गएपछि पूर्णरूपमा बन्द छ। त्यहाँभित्र जान मिनी एक्स्कभेटरले काम गरिरहेको छ। त्यहाँ अगाडिको भाग पूरै बाढीले तानेर लगेको भएर हेलिकप्टरले पनि सामान लैजान सक्दैन। त्यहाँ ल्यान्ड गर्न सक्दैन। अहिले त्यहाँ ब्लास्टिङ गरेर बाटो बनाएर थप एक्स्कभेटर लाने प्रयास भइरहेको छ ।
चीनसँगको सीमानाकाभन्दा सबैभन्दा नजिक रहेको रसुवागढी जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटिएको नेपाली सेनाले जनाएको छ।
“रसुवागढीको छैटौँ तला पूरै खोज्यौँ। त्यो अपरेशन कक्ष रहेछ। त्यहाँ केही पनि फेला परेन। त्यसपछि खोजी तथा उद्धार गर्ने क्रममा पाँचौँ तलासम्म पूर्ण रूपमा हिलो र लेदोले भरिएको पाइयो”, बस्नेतले भन्नुभएको छ।
लाङ्टाङमा पेनस्टक पाइप काटेर भित्रसम्म पुग्दा पनि दुई जनाको मात्रै शव भेटिए पछि खोजी र उद्धारको स्रोतसाधन त्यहाँबाट अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन्।
माथिल्लो त्रिशूली १ मा धेरै सुरुङहरू रहेका कारण त्यसमा हालसम्म नपुगेका स्थानमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनामा बालुवा थिग्र्याउन निर्माण भइरहेको पोखरीको माथिल्लो भागबाट बाढीको ११औँ दिनमा एक चिनियाँ कामदारको जीवितै उद्धार गरेको थियो। त्यही क्षेत्रबाट दुइटा शव पनि निकालिएको सेनाले जनाएको छ।
त्यसभन्दा तल माथिल्लो त्रिशूली ३ए र माथिल्लो त्रिशूली ३ बी आयोजनामा सेना र सशस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशूली ३एको भूमिगत पावरहाउस क्षेत्रबाट बाढीको १०औँ दिनमा दुई जना कर्मचारीको जीवित उद्धार गरिएको थियो।
नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाले मानिसहरू जान नसकिने स्थानमा इन्फ्रारेड ड्रोन प्रयोग गरेर पनि खोजी भइरहेको जानकारी दिनुभएको छ।
विपद् प्राधिकरणमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उहाँले सुरुङ संरचनामा मानिसहरू जीवितै रहेको हुन सक्ने आशा अझै कायम रहेको बताउनुभयो।
“हामीलाई अझै पनि आशा मरेको छैन। भविष्यमा केही भेटिन्छ कि भन्ने आशा कायमै राखिरहेका छौँ”, उहाँले भन्नुभयो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले आफ्नो सङ्गठनको ४ हजार जनशक्ति टिमुरेदेखि नवलपरासी पश्चिमसम्म परिचालन भएको बताउनुभयो ।
सशस्त्र प्रहरीले बाढीले पुरेका र भत्काएका घर तथा संरचनाहरूमा प्रवेश गरेर समेत मानिसहरूको खोजी गरिरहेको उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी बलका अधिकारीहरू बाढीले क्षतिग्रस्त घरका झ्यालहरूबाट ‘हामी उद्धारकर्ता हौँ यदि हाम्रो आवाज सुन्नुभएको छ भने आवाज दिनुहोस्’ भनेर माइकिङ गरिरहेको भिडिओ आफ्नो सामाजिक सञ्जालमा राखेको छ।
“पुरिएका भत्किएका संरचना र घरहरूमा जीवन नै फेला पार्न सकिन्छ भन्नेमै प्राथमिकता दिएर खोजी गरिरहनुभएको छ। उहाँहरूले कुनै पनि संरचना नछुटोस् भनेर भग्नावशेषमै हाम्रो टोली केन्द्रित छ”, सशस्त्र प्रहरीका प्रवक्ता कार्कीले भन्नुभयो।
यसअघि नुवाकोटको बेत्रावतीमा एउटा पुरिएको घरबाट सशस्त्र प्रहरीको टोलीले बाढीको ११औँ दिनमा एक जना महिलाको जीवितै उद्धार गरेको थियो।
सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीसँग शव व्यवस्थापन टोली पनि सँगसँगै पुग्ने गरेको छ।
नवलपरासी पश्चिममा हालसम्म २ सय ६ वटा शव फेला परेका छन्। नेपालबाट बगेर भारतसम्म पुगेका शवहरू खोजी गरिदिन भारतीय पक्षलाई पनि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बीबीसी न्यूज नेपालीलाई जानकारी दिनुभयो।
“हामीले भारतमा पनि खोजी गरिदिन र शवहरू भेटिए पठाइदिन भनेका छौँ। उहाँहरूले पनि खोजीमा सहयोग गरिरहनुभएको छ”, उहाँले भन्नुभयो।
प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार भारतीय क्षेत्रमा फेला परेका १९ वटा शवहरू हालसम्म नेपाललाई हस्तान्तरण गरिएको छ।
सडक, विद्युत् र सञ्चार सञ्जालमा के हुँदै छ?
बाढीपछि रसुवाका कैयौँ भूभागहरू सडक, विद्युत् र सञ्चारबाट विच्छेद भएका थिए। अहिले रसुवामा ८४ प्रतिशत भूभागमा विद्युत् पुर्याइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले नुवाकोटमा ९६ र धादिङमा ९९ प्रतिशत भन्दा धेरै घरधुरीमा विद्युत् आपूर्ति भइसकेको जनाएको छ।
उहाँका अनुसार जिल्लाभरि मोबाइल नेटवर्क पुनः स्थापना गरिसकिएको छ।
रसुवाको गोसाईँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो केही वडामा अझै पनि बिजुली पुर्याउन नसकिएको अधिकारीहरूले बताएका छन्।
अहिले रसुवा सदरमुकाम धुन्चेभन्दा केही अघिको १२ घुम्तीसम्मको ठाउँ राजधानीसँग जोडिएको अधिकारीले बताएका छन्।
नेपाली सेनाका प्रवक्ता बस्नेतका अनुसार नुवाकोटमा बनिरहेको बेलिब्रिजले रसुवामा राहत सामग्री, उद्धार टोली र उपकरण तथा अन्य पूर्वाधार पुर्याउने बाटो अझै छोटो र सहज बनाउने अपेक्षा गरिएको छ।
“अब ३-४ दिनमा पूरै बेस बनाएर त्यो प्रयोग गर्न मिल्ने बनाउने कोसिस हामी गर्दै छौँ”, बस्नेत भन्नुहुन्छ।
फलामका तयारी सामग्री जोडेर खोलामा राखिने यो पुलले ५० टनसम्म भार थेग्न सक्ने सेनाले बताएको छ।
कसरी वितरण हुँदै छ राहत
अहिले बाढीबाट विस्थापित भएका मानिसहरूलाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ।
जसमध्ये रसुवामा करिब ७ सय जना नुवाकोटमा २ हजार ५ सय जना भन्दा धेरै र धादिङमा २ सय जना भन्दा धेरै छन्।
सडक पहुँच नभएका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत् र सडक भएका ठाउँमा स्थल ढुवानीका साधनबाट राहत सामग्रीहरू पुर्याउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले राहत वितरणमा स्थानीय सरकारसँग समन्वय गरेर काम भइरहेको जानकारी दिनुभयो।
“राहत वितरणका लागि हामीले स्थानीय तहलाई जिम्मेवार बनाउन समन्वय गरिरहेका छौँ”, अधिकारी भन्नुहुन्छ ।
“रसुवामा वडाध्यक्ष र पालिका उपाध्यक्ष नै बाढीमा पर्नुभएको छ। स्थानीय जनप्रतिनिधि नभएका ठाउँमा स्थानीय बासिन्दाकै समन्वयमा काम गरिरहेका छौँ।”








