क्वालालम्पुर(मलेसिया), २५ भाद्र । आज भएको ओमानसंगको सेमिफाइनल खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछएको ओमानलाई ६० रनमा अल आउट गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३ । ३, ललित राजवंशी र रोहित पौडेलले २ । २ विकेट लिएका थिए ।
खेलमा टस जितेर पहिले ब्याटिड. रोजेको नेपालले ओमानलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरको खेलमा ओमान २८.१ ओभरमा नै अल आउट हुन पुग्यो ।
ओमानका लागि जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन । उसका लागि हमिद मिर्जाले ४, जय ओदेदरा र सकिल अहमदले ४ । ४, करन सोनाभाले ३ । विनायक शुक्ला र मुजिबर अलीले १ ।१ रन बनाए भने हसेन उल उहाव, मोहम्मद इमरान र सहनैन साहले खाता खोल्न सकेनन् ।
यस अगाडि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिड. रोजेको नेपालले ५०ओभरको खेलमा ४५ ओभर ४ बलमा १ सय ४७ रन जोडेको अवस्थामा अल आउट हुन पुगेको थियो ।
आजको खेलमा ओपनर अर्जुन कुमालको स्थानमा बसिर अहमद टोलीमा राखिएको थियो । ओपनिड.मा देव खनाल र आशीफ शेखलाई राखियो । तर यो जोडीले पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेन । २६ रन जोड्दा दुवै ओपनर आउट भए। आशिफ ११ र देव १३ रनमा ।
त्यसपछि मैदानमा उत्रिएका इशान पाण्डे १ रनमा र रोहित पौडेल ३ रनमा पबिलियन फर्किए। ११ ओभर २ बलमा पहिलो क्रमका चार ब्याटर आउट हुँदा नेपालले मात्र ३६ रन बनाएको थियो।
यसपछि बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटको लागि ९३ रनको साझेदारी गरे। बसिर ४७ रनमा आउट भए । दीपेन्द्रले ७६ बल खेल्दै ४ चौकाको मद्दतले ५१ रन बनाए।
बसिर र दीपेन्द्र आउट भएपछि नेपालले राम्रो गर्न सकेन । संकटमा आड भरोसा दिने गरेका करन केसी ५ रनमा, गुल्सन झा ७ रनमा,सन्दीप लामिछाने ३ रनमा र शेर मल्ल रनको खाता नखोली आउट भए।
नेपाललाई रोक्ने क्रममा ओमानका भिराम ओडेडाराले १० ओभरमा३ विकेट लिए। हसाने साहले ८ ओभर ३ विकेट नै लिए भने मोहम्मद इमरानले २ विकेट लिए।
अब नेपालले फाइनलमा युनाईटेड अरब इमिरेट्स(युएई)को सामना गर्नेछ ।








