क्वालालम्पुर(मलेसिया), २५ भाद्र । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको वायुमास क्रिकेट ओभल स्टेडियममा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। ५० ओभरको खेलमा नेपाल ४५ ओभर ४ बलमा १ सय ४७ रन जोडेको अवस्थामा अल आउट भयो ।
आजको खेलमा ओपनर अर्जुन कुमालको स्थानमा बसिर अहमद टोलीमा राखिएको थियो । ओपनिड.मा देव खनाल र आशीफ शेखलाई राखियो । तर यो जोडीले पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेन । २६ रन जोड्दा दुवै ओपनर आउट भए। आशिफ ११ र देव १३ रनमा ।
त्यसपछि मैदानमा उत्रिएका इशान पाण्डे १ रनमा र रोहित पौडेल ३ रनमा पबिलियन फर्किए। ११ ओभर २ बलमा पहिलो क्रमका चार ब्याटर आउट हुँदा नेपालले मात्र ३६ रन बनाएको थियो।
यसपछि बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटको लागि ९३ रनको साझेदारी गरे। बसिर ४७ रनमा आउट भए । दीपेन्द्रले ७६ बल खेल्दै ४ चौकाको मद्दतले ५१ रन बनाए।
बसिर र दीपेन्द्र आउट भएपछि नेपालले राम्रो गर्न सकेन । संकटमा आड भरोसा दिने गरेका करन केसी ५ रनमा, गुल्सन झा ७ रनमा,सन्दीप लामिछाने ३ रनमा र शेर मल्ल रनको खाता नखोली आउट भए।
नेपाललाई रोक्ने क्रममा ओमानका भिराम ओडेडाराले १० ओभरमा३ विकेट लिए। हसाने साहले ८ ओभर ३ विकेट नै लिए भने मोहम्मद इमरानले २ विकेट लिए।
यो प्रतियोगिताको विजेता एसिया कपमा छनोट हुनेछ। छनोटको संभावनालाई कायमै राख्न फाइनलमा पुग्नु जरूरी छ।
नेपाली टिमको ब्याटिड. सुध्रिएन । अब विजयी बन्ने चाहना बलिड. र फिल्डिड.को प्रदर्शनमा निर्भर रहेको छ ।








