Prakash Adhikari September 12, 2026

काठमाडौँ, २७ भदौः तेस्रो संस्करणको एएसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।

नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

दुवै टोली दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

नेपाल आसन्न संस्करणको सिनियर एसिया कपमा भने छनोट हुन बाँकी छ । यदि त्यो प्रतियोगितामा स्थान पक्का गर्ने हो भने  एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउनुपर्नेछ ।  यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।

नेपालले युएईसँग पछिल्लोपटक गत मेमा एसीसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका दुवै खेलमा नेपाल विजयी भएको थियो ।

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ ।  एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन् । नेपाल दोस्रो पटक यस प्रतियोगितामा छनोट भएको हो ।
नेपाल र युएईले आज भएको सेमिफाइनलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रन तथा युएईले हङकङलाई सात विकेटले हरायो । नेपाल दोस्रो तथा युएई तेस्रो पटक प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।
Share Now