काठमाडौं, २७ भाद्र । भदौ १० गते आएको भीषण बाढीपछि सामाजिक सञ्जालमार्फत् संसारभरि पुगेका भिडिओका कारण नेपाल आउने पर्यटकलाई गलत सन्देश जाने हो कि भन्ने चिन्ताहरू व्यक्त भइरहेको छ।
नेपालको सानो भूभागमा भएको ठूलो क्षतिले समग्र नेपालमा नै जोखिम हो कि भन्ने भ्रामक सन्देश जान सक्ने भन्दै त्यसलाई स्पष्ट पार्न सरोकारवालाहरूमार्फत् काम थालिसकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
पर्यटकका लागि गन्तव्य मानिएका ठाउँहरू सुरक्षित रहेको र बाटोको सुविधा सुनिश्चित गर्न भने आवश्यक रहेको पर्यटन क्षेत्रका जानकारहरूले बताएका छन्।
काठमाडौंलाई देशको बाँकी भागसँग जोड्ने मुख्य पृथ्वी राजमार्गमा बाटो अवरोध भएको विषयलाई यथाशीघ्र सरकारले सम्बोधन गर्न आवश्यक रहेको उनीहरूले बताएका हुन्।
भोटेकोशी त्रिशूली बाढीमा १ हजार ३ सयभन्दा बढी मानिसहरूको मृत्यु भएको छ भने झन्डै पाँच हजार बेपत्ता सूचीमा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा ५ सय ८७ पर्यटक परेको उल्लेख छ।
भारत, यूके, अमेरिका, युरोपलगायत थुप्रै देशका नागरिकहरू परेका कारण त्यसले नेपाल आउन चाहने पर्यटकलाई निरुत्साहित गर्ने हो कि भन्ने चिन्ता व्यक्त भएका छन्।
हालसम्मको असर
नेपालको दुईवटा पर्यटकीय मौसममध्ये सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाका लागि पनि थुप्रै बुकिङ भइसकेको पर्यटन क्षेत्रमा काम गर्नेहरूले बताएका छन्।
पर्यटन मौसम सुरु हुन लागेको समयमा आएको भोटेकोशी त्रिशूली बाढीले अहिले तत्कालै केही असर परेको देखिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले बताउनुभयो ।
“बाढीले यति नै प्रतिशत असर गर्यो भन्न त गाह्रो छ। तर हाम्रो सर्वेक्षणमा चाहिँ सेप्टेम्बरमा खासगरी कैलाश जानेहरू ७० प्रतिशतले रद्द गर्नुभएको छ। अन्य ठाउँमा पनि रद्द गर्ने क्रम बढेको छ। कम्तीमा ३०र४० प्रतिशत नै पुगेको छ जस्तो लाग्छ”, टानका अध्यक्ष पाण्डेले भन्नुभयो।
“त्रिशूली बाढीसँगै पृथ्वी राजमार्गमा परेको अवरोधले सप्लाइ चेनमा नै असर गरेको छ भन्ने बुझाइ बाहिर छ। त्यसले गर्दा पनि रद्द गर्ने कुरा बढेको छ।”
तर अक्टोबरसम्ममा वर्षा पनि कम हुने र बाढी पहिरोको जोखिम पनि कम भएपछि पर्यटनमा त्यति धेरै नराम्रो नहुने आफूले देखेको उनले बताए।
“अक्टोबरपछिको बुकिङचाहिँ त्यति रद्द भएको छैन। फेरि नेपाल साहसिक गन्तव्य भएको हुनाले हामीले विपद्पछिको अवस्थालाई कसरी व्यवस्थापन गर्छौँ र यहाँ आएका पर्यटकले कस्तो सन्देश दिन्छन् भन्ने कुरामा धेरै भर पर्छ”, उहाँले भन्नुभयो।
उहाँले गत वर्ष जेन जी आन्दोलनले पनि केही असर गरेको तर त्यो भन्दा यस पटक बढी असर गर्न सक्ने देखिएको बताउनुभयो।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी दीपक जोशीले बाढीका कारण पर्यटनको भौतिक क्षति र पर्यटनको छविमा पुर्याएको गरी दुईवटा पाटोमा असर पुर्याएको बताउनुभयो।
“होटेल सङ्घ, टुर सञ्चालकसँगको छलफलमा आएको तथ्याङ्क अनुसार १ सय ४२ वटा होटेलहरू, करिब ६० वटा रेस्टुरेन्टहरू, डेढ सय जति पर्यटकलाई यातायात सेवा दिने सवारीसाधनहरूमा क्षति पुगेको पाइएको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित कामदारहरू करिब दुई सयको सङ्ख्यामा हराइरहेको पाइएको छ”, उहाँले भन्नुभयो।
उहाँका अनुसार गत वर्षको तुलनामा गत वर्ष अगस्टभन्दा यस पटक पर्यटकको आवागमनमा करिब साढे ३ प्रतिशत गिरावट छ। त्यस्तै सेप्टेम्बरमा २२ देखि २५ प्रतिशत जति बुकिङ रद्द भएको पाइन्छ।
तर उहाँका अनुसार नेपालमा भएको बाढीको बारेमा गएका समाचार र तस्बिरका कारण छविमा परेको असर सबैभन्दा ठूलो हो।
“एभरेस्ट, अन्नपूर्ण, लुम्बिनी वा पोखरातिर आउने पर्यटकका लागि पनि नेपाल सुरक्षित छैन कि भन्ने सन्देश जाँदा त्यसले नकारात्मक असर परेको देखिन्छ”, उहाँले भन्नुभयो।
“त्यसैले सङ्कटको बेला सही सूचनाको सम्प्रेषण र सबैको एउटै स्वर जाँदा त्यो बढी विश्वसनीय हुन्छ। जसरी भूकम्पपछि ‘नेपाल नाउ’ भन्ने अभियान चलाइएको थियो त्यस्ता अभियानलाई पुनः सञ्चालन गर्नुपर्छ।”
उहाँले यो बीचमा नेपाल पर्यटनका लागि तयारी अवस्थामा रहेको कुराहरू जानकारी गराइरहन सक्दा त्यसले पनि सकारात्मक जाने बताउनुभयो।
“७७ वटा जिल्लामध्ये तीनवटा जिल्लाका आंशिक प्रभावित क्षेत्र हो तर बाँकी क्षेत्र सुरक्षित छ भनेर जति छिटो भन्न सकियो त्यति छिटो पर्यटन रिकभर हुन्छ”, उहाँले भन्नुभयो।
अहिले सामाजिक सञ्जालमा थुप्रै इन्फ्लुएन्सर र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले नेपाल भ्रमण गरिदिन अनुरोध गर्दै भिडिओहरू बनाइरहेका छन्।
त्यसमा कतिपय नेपाल घुम्न आएका विदेशी पर्यटकले हामी नेपालमा छौँ र नेपाल सुरक्षित छ भन्ने सन्देश दिएर पनि सामाजिक सञ्जालहरूमा भिडिओ प्रेषित गरिरहेका छन्।
निश्चित क्षेत्रलाई मात्रै असर
केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले सामाजिक सञ्जालमा एउटा भिडिओ सार्वजनिक गरेका थिए।
“बाढीले नेपालका केही निश्चित क्षेत्रलाई मात्र प्रभावित गरेको छ, सम्पूर्ण नेपाल बन्द भएको छैन। हाम्रा विमानस्थलहरू सञ्चालनमा छन्। हाम्रा हिमाल, पदमार्ग र ट्रेकिङ रुटहरू अझै पनि तपाईँलाई स्वागत गर्न प्रतीक्षारत छन्। होटेलहरू पर्यटकलाई स्वागत गर्न तयार छन्। तपाईँले भ्रमण गर्न चाहनुभएका अधिकांश गन्तव्यहरू खुला छन्”, फेसबुकमा सार्वजनिक गरिएको भिडिओमा उहाँले भन्नुभएको थियो।
“कृपया आफ्नो यात्रा योजना रद्द नगर्नुहोस्। कठिन समयमा तपाईँको नेपाल आगमन केवल बिदा वा घुमफिर मात्र होइन, यो विनाशकारी आकस्मिक बाढीको सामना गरिरहेको देशप्रति ठूलो सहयोग पनि हो।”
मन्त्रालयका प्रवक्ता तथा सहसचिव जयनारायण आचार्य पनि अहिले जम्मा तीन जिल्लाका आंशिक क्षेत्रमा मात्रै बाढीको असर परेकाले त्यसले बाँकी पर्यटकीय क्षेत्रमा असर नपुर्याउने दाबी गर्नुहुन्छ।
“सामाजिक सञ्जालमा देखिने भिडिओहरूले अप्ठ्यारा छन् कि भन्ने सन्देश त पुग्छ। तर हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश विभिन्न माध्यममार्फत् पुर्याइरहेका छौँ”, उहाँले भन्नुभयो ,”हाम्रा सरोकारवाला, विकास साझेदार, नेपालमा भएका दूतावासहरू र विदेशमा भएका नेपाली मिसनहरूमार्फत् त्यहाँका हेल्प डेस्कहरूबाट नेपालबारे सूचना र जानकारी लिने प्रबन्ध गरेका छौँ।”
विपद्का घटना संसारभरि जहाँ पनि हुन सक्ने भन्दै अहिलेको घटनाले नै पर्यटनमा धेरै असर नपर्ने उहाँले बताउनुभयो।








